June 22, 2024 मा विचार स्तम्भमा स्तम्भकार रमेश लामिछाने लेख्नुहुन्छ –
“बेलकाका एमाले,माओवादी र केही अन्य कम्युनिस्ट पार्टीको आदरणीय नेता,कार्यकर्ता र भोटर्स साथीहरु मन्दिर दर्शन,पुजापाठ,भागवत कथा श्रवण, र चर्जमा प्रार्थना गर्न वा अन्य धार्मिककार्य हरुमा संग्लग्न भएको प्रशस्तै देखिँदैछ।के उनीहरुले कम्युनिस्ट पार्टी वा मार्क्सवाद के हो भन्ने बुझेका होलान त?उनीहरुलाइ मार्क्सवादको दर्शन,दृष्टिकोण र विचार के हो,भन्ने कुरा थाहा होला त? मार्क्सवाद र धर्म बिचको दार्शनिक,बैचारिक र दृष्टिकोण बिचको बिन्नता बोध होला?” (पूरा लेख पढ्न यहाँ जानुहोस्:https://belakapost.com/archives/4563)
प्रसङ्ग त बेलकाकाे हो। तर बेलकामात्रकाे अवश्य होइन। त्यस अर्थमा यो प्रश्नको महत्वको फराकिलो विस्तृति छ। राजनीतिमा विचारहरू तथा सैद्धान्तिक पक्षहरू मृत्युशैय्यामा भएको अवस्थामा यस्ता प्रश्नहरू उठ्नु कताकता प्यान्डोराज बक्सभित्रको आशा ( Hope ) अझै शेष छ जस्तो अनुभूति भयो।
सुरूमा त मार्क्सवाद आफैमा जटिल दर्शन हो। र यसलाई आधारभूत रूपमा बुझ्नका लागि मार्क्स र एंगेल्सको समयमा फर्किनै पर्छ , त्यतिबेलाको सामाजिक आर्थिक परिस्थिति नियाल्न पर्छ। मार्क्सलाई मार्क्सको जीवन र सामाजिक संरचनाबाट अलग्याएर हेर्नु स्वंयम मार्क्सवाद विरोधीकर्म हुन जान्छ। अहिले त्यता नजाउ।
रमेशजीको प्रश्न देख्दा जति सरल प्रतीत हुन्छ, यसको उत्तर त्यति नै गार्हो पनि छ। वहाँ मार्क्सवाद र धर्मबीचको सम्बन्ध केलाउन प्रयास गर्नुहुन्छ । त्यो भन्दा अगाडी यो कुरा प्रष्ट हुनै पर्छ कि हामी शास्त्रीय मार्क्सवादको धङधङ्गे ( Dizziness ) बाट मुक्त समाजवादको कुरा गर्ने छौ।
मार्क्स भन्छन् – धर्म अफिम हो। यसको अर्थ के हो त? धर्म भनेको त्याज्य तत्वको रूपमा लिने हो त? मार्क्सले कुन सन्दर्भ र परिस्थितिमा धर्मलाई अफिम भने त, त्यो महत्वपूर्ण प्रश्न हुन जान्छ। त्यसैले सर्वप्रथम यही प्रश्नमा केन्द्रित हुनु आवश्यक छ।
मार्क्स आफ्नो जीवनको कैशोर्यकाल देखि दार्शनिक हेगलदेखि प्रभावित थिए। र वास्तवमा मार्क्सको दर्शनको मूल मर्म हेगलकाे नै छ, मात्र त्यसमा भौतिकवादी व्याख्या छ। धर्मप्रतिको प्रतिकार ( ? ) र हेगलकाे द्वन्द्ववादको योगबाट द्वन्द्धात्मक भौतिकवादकाे उदय हुन्छ। सोही हेगलकाे दर्शनबारे लेख्ने क्रममा मार्क्सले आफ्नो जीवनको सर्वाधिक विवादानुगत ( Controversial ) वाक्य लेख्छन् – “यो ( धर्म ) त मानिसहरूको लागि अफिम हो।”
अब यसलाई हामीले पश्चिमी दार्शनिक सोक्रेटिजकाे तरिकाले बुझ्ने प्रयत्न गर्नुपर्छ। धर्म मानिसहरूको लागि अफिम हो भनेर भन्नासाथ हामीले दुइ शब्द धर्म र अफिमलाई बुझीहाल्नु पर्छ, मनोगत तर्ककाे बाढीमा प्रवाहित हुनु हुँदैन।
धर्मको सरल र वास्तविक अर्थ हुन्छ – जसबाट जीवन धारण गरिन्छ अथवा यसलाई यसरी बुझ्दा पनि हुन्छ धर्म भनेकाे जीवनपद्दति हो। तर यहाँ मार्क्सले प्रयोग गरेको धर्मले भने शतप्रतिशत सोही अर्थ दिँदैन। मार्क्सले विगतदेखि आगतसम्मका कालमा तथाकथित धर्मले कसरी साधारण जनलाई अज्ञान र भयको आगोमा जलाएको थियो भन्नेबारे सुसूचित थिए। धर्मको केन्द्रिय अड्डासरह बनेका चर्चहरू कसरी प्रिस्टहरूका आर्थिक लाभका स्रोत बनेका थिए , कसरी त्यसभित्र विभेदका रेखाहरू खिचिएका थिए, कसरी चर्च तत्कालीन पूँजीपतिहरूसँग सम्बन्धित थिए लगायतका धर्मका कुरूप पक्षहरूलाई मार्क्सले नियालेका थिए। त्यो भन्दा विडम्बनाकाे कुरा त यसले आफूमाथिको कुनै पनि प्रतिकारलाई स्वाभाविक प्रवृत्ति या प्रक्रियाको रूपमा लिदैंन थियो। धर्मको अपव्याख्याको सहयोगद्वारा स्वाभाविक प्रतिकारलागि कसरी दमन गरेको थियो, त्यसको साक्षी इतिहास छ। यसमा द्विमत छैन कि यसले मानिसहरुमा व्याप्त दुःख ,दर्द , असमताको विरोध पनि गरेको थियो । तर त्यो विरोधले वास्तविक हल निकाल्न सक्दैन थियो किनभने धर्मले दिएको समाधान आधिभौतिक ( Metaphysical ) थियो । । मार्क्सकै भाषा सापटी लिएर भन्दा धर्म उत्पीडितहरूको सुस्केरा थियो। सुस्केरा शब्दको थप व्याख्या गर्नु नपर्ला।त्यसकारण मार्क्सले व्याख्या गरेको धर्म, धर्मका नाममा भएका अधर्मप्रतिको कटाक्ष हो।
धर्मको वास्तविक अर्थ मनुष्य जीवनलाई सुव्यवस्थित तरिकाले धारण गर्ने प्रक्रिया हो, त्यसैले प्रक्रियाभित्र समुन्नत जीवनको चाहाना र ऊर्जा पनि हुन्छ । त्यसैकारण रामपुरमा रामको मूर्ति बनाइनु मात्र धार्मिक गतिविधि होईन, र यदि मूर्तिपूजामा मात्र धर्म सीमित हुने हो भने त्यो क्रिया फगत सडकशोभा बढाउने चाहाना मात्र हुनजान्छ। वर्तमान सन्दर्भमा चतराधाममा कुम्भ मेला लाग्नु धार्मिक गतिविधि कम र आर्थिक गतिविधि बढि हो। रामपुरमा रामको महापुरुष (?) व्यक्तित्वत्को ज्यादा प्रचार हुनुभन्दा सीताले उठाएका प्रश्नहरू आजसम्म पनि महिला अस्मिताको लागि कति / कसरीमहत्वपूर्ण र सान्दर्भिक छन् विषयक पैरवी हुनु नवीन धार्मिक प्रवृत्तिको रूपमा स्थापित हुन सक्छ। [ पुरुष प्रधान समाजलाई ख्याल रहोस् रामले जीवनभर खोजेको मृगमारीचिका अरू कोही नभइकन स्वयम् सीता थिइन । ] चतराधाममा स्थापना भएको नेपालको एकमात्र जगद्गुरु पिठ र औलिया बाबा मठमा लाग्ने कुम्भमेला मार्फत समाजका संरचनागत विशेषता आत्मबोध गर्ने प्रयत्न गर्नु, त्यसभित्रको जीवन – दर्शनको सहारामार्फत आफ्नो स्व- खोजलाई नैरन्तर्य प्रदान गर्नु वास्तविक धर्म हुन आउँछ।
यही प्रसङ्गमा धर्मको असली व्याख्या कसरी क्रान्तिकारी कदम हुन सक्छ भन्ने दृष्टान्त नेपालमा नै छ। नेपालका चार शहीदमध्यका एक शहीद शुक्रराज जोशी धार्मिक ग्रन्थहरूका ज्ञाता थिए। उनले त्यतिबेलाको समयमा शास्त्री उत्तीर्ण गरेका हुँदा उनलाई शुक्रराज शास्त्री पनि भनेर चिनिन्छ। इतिहास अध्ययन गर्दा स्पष्टसँग थाहा हुन्छ कि शुक्रराज शास्त्रीले भागवतगीताको व्याख्या मार्फत् राणा शासन कसरि गलत हो भनेर सिद्ध गरिदिएका थिए।
नेपालमा पनि हेर्ने हो भने मार्क्सवादका नवीन व्याख्याकार ( स्वरूप पक्षमा ) तथा जननेता मदन भण्डारीले पनि आफ्नो दमदार आवाजमार्फत जनताका आधारभूत समस्याहरूलाई छाडेर मन्दिरको गजुर सजाएर धार्मिक देखिने धर्मलाई प्रखर रूपमा आलोचना गर्नु हुन्थ्यो।
समयक्रममा मार्क्सको उक्त वाक्यलाई कयौ पटक अपव्याख्या गरियो। यहाँसम्म कि धर्मको प्रखर आलोचक हुनु नै मार्क्सवादी हुनु हो भन्ने मान्यता पनि हाम्रै समाजमा व्याप्त थियो। त्यसकारण मार्क्सवादी हुनु र धर्म मान्नु आपसमा विरोधाभाषी क्रिया होइनन्। धर्म मानव सभ्यताको अनुपम उपलब्धि हो। र मानिस धर्मबाट सम्पूर्णतया मुक्त हुनु असम्भवप्राय छ किनभने धर्ममा श्रेष्ठ आस्था मानिसले अर्को पाउँदैन पनि। र यो अनुच्छेदलाई यसरी सूत्रबद्ध गरौं कि – धर्म र मार्क्सवाद पूर्णरुपेण विरोधभाषी तत्व होइनन्, यद्यपि यस सूत्रका दुइ शर्त छन् – १. धर्म आस्था हो अन्धविश्वास होइन २. मार्क्सवाद गतिशील विज्ञान हो, ‘ धर्म ‘ होइन ।
अब अन्त्यमा बेलका र बेलाका लगायत नेपालका विभिन्न ठाउँकाे कम्युनिस्ट चरित्रमा प्रवेश गरौं। विश्वभरि नै धर्म अस्वस्थ राजनीतिक स्पर्धाको ‘ एक्का ‘ को रूपमा प्रयुक्त भएको छ। नेपालको अहिलेको सन्दर्भमा त झन् कम्युनिस्टहरू नै कुशल खेलाडीको रूपमा उदाएका छन्। त्यसकारण ” धर्म, अफिम, मार्क्स ” अझै नयाँ र गहिरो किसिमको व्याख्याको माग गरेका छन्।
र जहाँसम्मकाे बेलाकाकाे सवाल छ , रमेशजीको प्रश्नको मूल उत्तर बेलकाका नागरिकले नै दिनेछन्। तर यो प्रश्नको स्वरूपलाई फेरबदल गरेर प्रश्न राख्नु पर्ने छ। बेलाकाबासीले स्वंयलाई नढाँटीकन उत्तर दिनु पर्ने छ ।
र , त्यो प्रश्न हो – बेलाकाकाे प्राथमिक आवश्यक्ता के हो? मन्दिर निर्माण कि पुस्ताकालय ? बाल उद्यान कि बाल विज्ञान प्रयोगशाला? रामपुरमा रामको मूर्ति या फोहोर व्यवस्थापन ? पुराण कि सामुदायिक समस्याका विषयमा अन्तर्क्रिया? आर्यघाट कि एमबुलेन्स?
नोट : यो प्रश्नको मूलभाव धार्मिक अनुष्ठानलाई निषेध गर्नु होइन।