१. हेजिमनी अर सर्भाइभल ( Hegemony or survival)
मलाइ प्रभावित पार्ने किताबहरू मध्य एउटा प्रमुख किताब हो नोम चोम्स्कीकाे हेजिमनी अर सर्भाइभल ( Hegemony or survival) । यो किताब मैले सर्वप्रथम सन् २००९ या २०१० तिर पढेको हुनुपर्छ। अमेरिकी साम्रज्यवादी चरित्र विषयक यस कृतिमा संसारभरि व्याप्त अमेरिकाको दादागिरिलाई चोम्स्कीले उजागर गरिदिएका छन् । किताबमा आधिकारिक रूपमा इतिहासमा पढिदै आएका , सुनिदै आएका तथ्यलाई चोम्स्कीले सर्वथा भिन्न दृष्टिकोणबाट विवेचना गरेका छन् । यस किताबको प्रभाव पश्चात मैले चोम्स्मीका सम्पूर्ण कृतिहरू अध्ययन गरे । यस किताबसँगको परिचयको संयोग मलाई भेनेजुएलाका राष्ट्रपती ह्युगो चाभेजद्वारा भएको थियो । २००४ ताका झापा सुरुङ्गाकातिर टेलिभिजनका पर्दाहरूमा चाभेज छाईरहेका थिए , सो समय चाभेज विरुद्ध भेनेजुएलामा कू भएको थियो। त्यतिबेला चाभेज मैले देखिरहने,सुनिरहने पात्र थिए। पछि सन् २००६ सेप्टेम्बर २० UN Assembly मा चोम्स्की यही किताब देखाउँदै चाभेजले भनेका थिए – यदि अमेरिकाको दादागिरिको विषयमा जान्ने इच्छा हुनेले यो किताब पढे हुन्छ । चाभेजकोे बारेमा खोजी गर्ने क्रममा मैले यो पत्ता लगाएँ कि उनी मार्क्स, क्याष्ट्रो, ट्राट्स्की, सिमोन बोलिभर, चामोरा , चोमस्की आदि द्वारा प्रभावित एवम् स्वाध्ययनबाट निर्मित समाजवादी थिए। उनलाई प्रभावित पार्ने व्यक्तित्वको नामहरू मध्ये चोम्स्की नयाँ नाम थिए। चमोस्कीकाे बारेमा जिज्ञासा राख्दै जाने क्रममा मैले थाह पाएँ चोम्स्की एक भाषाविद रहेछन्। भाषाविद्काे राजनीति सम्बन्ध कस्तो हाेला भन्ने विषय मेरो लागि अपूर्व र अच्चमलाग्दो थियो। झापामा किताबहरू उपलब्ध नहुँदा मैले त्यो किताब कतैबाट मगाएँ। त्यो किताबको अध्ययन पश्चात् अमेरिकालाई हेर्ने फरक आयामहरुबारे बोध गरायो।
२.पिपल्स हिस्ट्री अफ युनाईटेड स्टेट्स (People’s History of United States)
त्यस्तै गरि मलाई प्रभाव पार्ने दोस्रो किताव किताब हो, हावर्ड जिनको People’s History of United States। शायद युवा मासिक पत्रिकामा हुनुपर्छ, अमेरिका भूगोलको खोजकर्ता भनेर चिनिएका कोलम्बसमाथि भिन्न दृष्टिकोणमा लेखिएकाे भनेर एउटा लेख प्रकाशित थियो। त्यसपछि मैले उक्त किताब अमेरिकाबाट मगाएँ। शासक वर्गले आधिकारिक भनेकाे ईतिहासप्रति साधारण मानिसहरूको कस्तो धारणा हुन्छ भन्ने धारबाट उक्त किताब लेखिएकाे छ। मलाइ प्रभावित पार्ने किताव भए तापनि यसका केही विषयहरूसँग भने मेरो मतभेद रहेकाे छ। उदाहरणार्थ, इजरायल र प्यालेस्टाइन विषयका कुराहरू विशेष गरी हमास क्षेत्रकोे वारेमा मेरा केही मतभेद रहेका छन्। यद्यपि, समग्ररूपेण आम मानिसको बारेमा लेखिएका कुराहरुले मलाई प्रभावित पारे ।
३. ग्लोबलाईजेसन एन्ड इट्स डिस्कन्टेन्ट्स (Globalization and Its Discontents)
सन् २०१७ / १८ तिर हुनुपर्छ, मैले स्नातक तहमा पढाएका विद्यार्थी सुजनले मलाई फोन गरेर मलाई किताब किनिदिने कुरा गरे। मण्डला बुक हाउसमा किताब खोज्ने क्रममा मैले एउटा किताब भेटे – Joseph Stiglitz काे Globalization and Its Discontents। त्यतिबेला मलाई अर्थशास्त्रप्रति खासै रूचि थिएन। तर उक्त किताबले मलाई पोलिटिकल इकोनोमी नियाल्ने आँखीझ्यालको रूपमा काम गर्यो। यस किताबका लेखकप्रति पनि मेरा धेरैं विमति छन्। उनका अन्य किताब अध्ययन गर्ने क्रममा आफ्ना कतिपय अडानहरु परिवर्तन गरेको पाएको छु। किताबमा विश्वको अर्थतन्त्र कस्तो हुन्छ साथै पूँजीवाद, नवउदारवाद, समाजवादको वारेमा धेरैकुराहरू फेला पारे। यसपछि पोलिटिकल इकोनोमी बारेमा रूचि पैदा भयो। यहीँ किताबमार्फत् आफ्नो अध्ययन यात्रामा नाओमी क्लेइन, हाँ जून चाङ जस्ता लेखकहरू भेटिए।
(अध्येता नवीन तिवारीसँग गरिएको वार्तालापमा आधारित)