किताब नफर्काएपछिको-फ्रस्ट्रेसन
झोलामा नयाँ किताब बोकेर हर्षित हुँदै क्याम्पसमा हिँडिरहेको थिएँ – ” दाई! मलाइ पनि किताब शेयर गर्नु न।”
समाजिक सञ्जालमा, फोन कालमा उही रटान। “किताब देउ न, फर्काई हाल्छु।”
………………यो अन्त्यहीन रटान।
(रामराम । कतै मैले कोहिनुर हिरा त ल्याइन किताबको नाममा।)
जब जब म यस्ता जमात भेट्छु, तब मलाई शरीर नै चिसो भए जस्तो लाग्छ। तथाकथित किताब प्रेमीहरू,जसलाई अरूको श्रमवटा किनिएको किताब सित्तैमा पढ्न रहर लाग्छ, देखी वाक्क दिक्क हुनुकाे पीडा बेग्लै छ।
शायद तीन चार कक्षादेखी हाेला म मुना मासिक बालपत्रिकाको नियमित ग्राहक। मुना पत्रिका सँगसँगै शिक्षक, युवा, मधुपर्क लगायत अनेक साहित्यिक पत्रिका घरमा उपलब्ध हुन्थ्यो। अझ त्यसमाथि पुराना अङ्कहरू समेत पढ्ने लत लागिसकेको थियो। ती पत्रिकाका कुनै कुनै अङ्कमा बुबाले रातो मसीले सुन्दर अक्षरमा लेख्नुभएको हुन्थ्यो – “किताब मागेर होईन किनेर पढौं।”
शायद ती अक्षर आजपर्यन्त मेरो मस्तिष्कमा प्रकशित भएका छन्। किताबसँगको सङ्गत, प्रेम सँगसँगै त्यसको लागि आवशयक मूल्य चुकाउन पनि तयार हुनुपछ भन्ने स्पष्ट सङ्केत थियो।
लाग्छ त्यो बल्यवय किताब मन पराउने अन्तिम युग थियो। यद्यपि आजकल किताबप्रेमी र किताब ग्राहकको सङ्ख्या बढीरहेको छ। तर त्यसको अनुपात भने निक्कै कम छ। मूलतः आजको युगको बुझाइमा किताब पढ्नु फागत समयको बर्बादी हो। एक अर्थमा त्यो सहि पनि हुन सक्ला। मानिसको आफ्नो कर्मप्रतिको भिन्न झुकावको कारण त्यस्ता अभिव्यक्ति आएको हुन सक्छ। तर पनि किताब अध्ययनलाई आर्थिक आयको कसौटीमा मात्र जोखिनु अनैतिक कार्य हो ( कमसेकम मेरो लागि) ।
तर रमाइलो त यहाँ पो हुन्छ त। तिनै मनुवाहरू, जसले किताब अध्ययनलाई समयको बर्बादी भनेर ट्याग लगाई राखेका हुन्छन् तिनै मनुवाहरु अरूको किताब सित्तैमा प्राप्त गर्नुमा परम आनन्द लिन्छन्। ठीक छ, मन खुम्चिएर मरिच भईभई पनि किताब दिइसके पछि त अलिक समयमा फर्काउन त बिर्सी नै जाने। थाह छैन् किताब कसैको सिरानी भइरहेको छ कि, सानो बच्चाले खेलिरहेको छ कि, जहाँ पायो त्यहीँ धस्रीरहेकाे छ कि मनुवाहरूलाई कुनै फिक्री छैन्। सित्तैको माल गोजितिर हाल।
दिएको किताब पाउन पनि घरमा अंश मागे जतिकैको नाटक चल्छ एक फेरो।
- “दाई! किताब त चाहिएको थियो उत्तर आउँछ – “ह्या दिईहाल्छु क्या!” ( बाफ्रे! किताब धनी नै पो परीवर्तन भयाे कि क्या हाे! )
- भाई! किताब कहिले हौं? प्रत्युत्तर – ल्या दाई! साथी ले पो लागेको छ त। ( ठीक छ, अरूलाई दिन्छौ भन्ने आशाले दिएको थिएँ, आफ्नै सम्पति हो मोज गर। )
- “महाशय! यो बबुरोले हजुरलाई चढाईबक्सेको किताब पाइन्छ कि। “ महाशय खिस्स हाँस्छ। पुग्यो। उत्तर पुग्यो। भयाे, तिम्रो भोक्याबुलरी खर्च नगर। मैले बुझें।
आखिर प्रतिक्षाको घडी समाप्त हुन्छ। म दिनहीन पात्र विद्वान महाशयको प्रतीक्षमा हायलकायल छु । नेपथ्यबाट विद्वान् महाशय हातमा किताब हल्लाउँदै आइपुग्छ। यसरी त सानोमा अम्लिसोको ठुटो खेलाउँदै हिँड्थे। बस्! हजुरको आगमनबाट कति अनुग्रहित भए। विद्वान् हाँस्दै मेरो हातमा किताब दिन्छ मानौं कि जीवनकालको सम्पूर्ण आय मेरो नाममा पास गरिरहेको छ । तर त्यो किताब के हो त्यस्तो ?
- माफ पाउँ महाशय! मैले त अर्कै किताब दिएको थिएँ। हजुरले कुन किताब दिबक्सिनु भएको?
- त्यहीं किताब हो बालक।
बालकले बुझ्यो। विद्वानको यत्रो महिनाको पराक्रमपश्चात् किताब यस्तो विरूप भएको रहेछ। कति मिहेनती, कति पारखी। बिचरा अज्ञानीहरूलाई सजिलो हुन्छ भनेर किताब भरी underline पनि गर्दिनु भएको रहेछ।
किताबको कभर उम्किएर अपाङ्ग हुन लागेकाे रहेछ। मैले सोचें – “महाशय किताब पढ्नु हुन्छ कि कुश्ती खेल्नु हुन्छ ! “ किताब उठाउन पनि हनुमानले पर्वत उठाएझै उठाउनु पर्छ कि! या भए भरको आक्रोश किताब माथि पोख्नु हुन्छ कि। हैट, कति सजिलो ! भाईबहिनी पिट्दा केके मच्चिने हो ! बरू किताबलाई झटारो हाने पनि, घुइक्याए पनि चुपचाप बस्छ ।
घर जान्छु। किताब मैलिएको भागहरुमा स्यानीटाइजर र कपडाले सफा गर्छु। सेलो टेप लाउँछु। अनि जतनपूर्वक उठाएर अरू किताबहरुले थिचेर राख्छु।
महाशयहरू!
किताब किनेर पढुम न। पैसा हुँदा त। आवश्यकता भन्दा बढि कपडा, पर्फ्युम, जुत्ता, खानेकुरा किन्न सकिने रैछ। अलिकति जोगाएर किने भईहाल्छ त। खेर जाँदैन। अनि किताब पढ्नै पर्छ भन्ने कहाँ छ र? आजकाल ज्ञानको श्रोत किताब मात्र छैन त? कागजमा पढ्न अभ्यास भएको मानिसहरू कागजमा पढ्छन्। तपाईंहरू अन्य कुनै माध्यम प्रयोग गर्नु होला, सिनेमा हेर्नु हाेला। भिडियोहरू हेर्दा नि हुन्छ। समयको बचत अझ।
महाशयहरु! पढ्न रहर हुने, किताबसँग माया हुने मानिसहरू आफ्नो आधारभूत आवश्यकता काटेर पनि किताब किनीरहेका हुन्छन्। अभावहरूबीच पढ्नेहरू पनि छन्। उनीहरूको त्यागलाई खेलाँची नगरौं।
फेरि फेरि लेख्न नलगाउनु होला।