समाजलाई साहित्य किन ? 

समाजलाई साहित्य किन ? 

बि एस सि स्नातक प्रथम वर्षमा अध्ययनरत रहँदा शहदेवले मलाई एउटा प्रश्न सोधेको थियो – “ समाजलाई साहित्य किन चाहिन्छ ? 

 

बाहिर देखाउन नसके पनि म भित्र भित्रै झस्किएको थिए उक्त प्रश्नबाट।देख्दाखेरी सजिलो देखिने तर गम्दा गहिरो हुने प्रश्न सोधेको थियो शहदेवको । संसारको अर्को एउटा आश्चर्य लाग्छ मलाई – सुन्दा खेरी सरल र सजिला लाग्ने प्रश्नहरूको गहिराइ अगम्य हुन्छ । र, यसको ठीक विपरीत अफ्ठ्यारो सुनिने, कठिन शब्दहरूद्वारा आभूषित प्रश्नहरूको जवाफ अत्यन्त सरल शब्द या वाक्यांशमा दिन सकिन्छ। शायद यस पहेलीको उत्तर प्रश्नकर्ताकाे नियतमा निर्भर रहन्छ हाेला। जब कोही मानिस सजिलो गरी प्रश्न सोध्छ, त्यसमा जिज्ञासुपना हुन्छ, प्राकृतिक उत्सुकता कायम रहन्छ। अनि जब कोही मान्छे सजिलो प्रश्नलाई समेत कठिन वनाएर सोध्छन्, त्यहाँ उनीहरूको उत्सुकता कम शब्दाडम्बर बढी झल्किन्छ।

 

खैर, प्रश्नको चरित्रचित्रणलाई अपुरो छोडेर प्रश्नको मर्मतिर प्रवेश गरौं। 

 

त्यतिबेला म शायद अठार वर्षको मात्र थिएँ हुँला। त्यसकारण मेरो प्रत्युत्तर एकदमै काँचो थियो। त्यसमाथि म साहित्यको त्यस्तो विघ्न पारखी पनि थिइन। साहित्यिक वातावरणको वञ्चितमा म भित्रको साहित्यिक मानिस थाकेर एउटा कुनामा थन्किएको थियो। शहदेवसँगको साथसंगतमा त्यो साहित्यिक मानिस थोरै मात्र भए पनि तङ्ग्रिन थालेको थियो। 

 

अहिले सम्झिदा मैले शहदेवलाई दिएको प्रश्नको उत्तरमा श्रवण मुकारुङ्गको कविता ‘विसे नगर्चीको बयान’ केन्द्रीय उदाहरणको रूपमा लिएको थिए – कसरी ०६२/६३ काे आन्दोलनमा बिसे नगर्चीको बयान सडकमा पोखिएको थियो त, कसरी उक्त कविताले उत्प्रेरकको भूमिकानिर्वाह गर्यो! हामीमाझ त्यस्ता उदाहरणहरू प्रशस्त छन् , तिनका लामै फेहरिस्त तयार हुन सक्छन् । त्यसकारण उक्त विषयमा अल्झिराख्नु उचित नहोला ।

 

अहिले त्यो “अठार  बर्ष” वितिसकेको दुई वर्ष भइसक्यो । र शायद यि दुइवर्षहरूमा हामीले अलिकति भए पनि समाज पढ्ने , बुझ्ने प्रयत्न गऱ्यौ । तर अझै पनि म त्यो प्रश्नको चित्तबुझ्दो उत्तर दिन असमर्थ मात्र होइन अयोग्य पनि छु । वास्तवमा भन्ने हो भने कुनै पनि विषयको चित्तबुझ्दो उत्तर खोज्नु भनेको आफ्नो जिज्ञासु प्रवृत्तिमा पूर्वविराम लगाउनु हो । चित्तबुझ्दो उत्तर आफैमा खतरनाक शब्दावली हो , कमसेकम मेरो लागि । कारण – प्रायजसो चितबुझ्दो उत्तर आस्था बन्न कति पनि समय लगाउँदैन अनि आस्था , अन्धविश्वासको तहमा पुग्न पनि धेरै वेर लाग्दैन ( आस्था र अन्धविश्वासलाई अलग्याउने पर्खाल धेरै अग्लो हुदैन ।) । त्यसैले उत्तरहरुलाई सधै अल्पविराममा स्थापित गरेको नै उपयुक्त हुन्छ । 

 

समाज शब्द उच्चारण गर्ने वितिकै राजनीति शब्द झन्नै झन्नै समार्थक शब्दतुल्य भएर हाम्रो मस्तिष्कमा प्रतिध्वनित हुन जान्छ । सत्य पनि यही हो कि समाज उत्पत्ति निसङ्कोच राजनीतिक प्रकृया हो। र सत्य यो पनि हो कि समाज उत्पति प्रकृयामा सृजना , सौन्दर्य, साहित्य नभएको भए उक्त प्रकृया वेहद निस्तो र निरस हुने थियो । राजनीतिले निर्माण गरिदिएको सामाजिक आकारभित्र साहित्यले जन्म लिन्छ र सामाजिक आकार ग्रहण गर्छ अनि साहित्यले पनि राजनीतिका पाइलाहरूलाई प्रभावित , पथप्रदर्शन गरिरहन्छ र आवश्यकता अनुसार खलबल पनि मच्चाइराख्छ , त्यो साहित्यको कर्तव्य पनि हो ।

 

राजनीतिले जब विभत्स रूप लिन्छ , त्यतिबेला समाजले साहित्यको सहारा लिन्छ । द्वितीय महायुद्धपश्चात ससारका श्रेष्ठतम उपलब्धिहरू खरानीमूनि गाडिएका थिए , संसार चिहान सदृश थियो , मानवता स्वयम् मानवहरुदेखि त्रसित थियो त्यस बेला समग्र कलाक्षेत्र नै प्रगति पथमा थियो । साहित्य , संगीत , पेन्टिङ … सबै कला स्वरूपहरुमा उत्कृष्ट सृजनाहरूले जन्म लिएका थिए । इतिहास साक्षी छ , ऑशुका  सृजनाहरू सर्वोत्कृष्ट सृजना हुन् ।

 

सुमित्रानन्दन पन्तको एउटा कविता छ – 

 

वियोगी होगा पहला कवि, आह से उपजा होगा गान,

निकल कर आँखों से चुपचाप, बही होगी कविता अनजान

 

कुनै पनि सर्जक वियोगी नहुन्जेलसम्म श्रेष्ठ सृजना जन्मदैन । छाती नउम्लिइ / छाती ननिचोरी सृजनामा आत्मा कहाँवाट अवतरित हुन्छ र ! सर्जक समयको धारले काटिनु पर्छ , मनमा चिराहरू पर्नु पर्छ ( Ring the bells that still can ring /Forget your perfect offering/There is a crack, a crack in everything/That’s how the light gets in – “Anthem”by Leonard Cohen)

 

त्यो समयको धारको नाम के हो ? राजनीति ?  अनि त्यो चिरामा प्रवेश गर्ने प्रकाश? साहित्य? 

 

अझ त्यसमाथि म यो पनि पाउँछु कि साहित्यको छुट्टै स्वतन्त्र अस्तित्व पनि छ । राजनीतिभन्दा पर यस अर्थमा कि उसलाई राजनीतिलाई सहायता गर्नु उसको उद्देश्य छैन । उसलाई आफू भित्रको छटपटी( जो अमूर्त छ) लाई आफ्नो नाङ्गो आँखाले हेर्न चाहन्छ । आफूभित्रको अर्मूत लाई मूर्त रूपमा देख्ने असफल प्रयासमा जे जन्मन्छ , त्यही नै साहित्य भइजान्छ । आफूभित्रका भत्कोसहरू सौन्दर्यात्मक मूल्य सहित सिङ्गो रूपमा हेर्न चाहनु साहित्यको आरम्भिक उद्देश्य हुन्छ । 

 

मैले धेरै पहिला वृटिश लेखक जर्ज अरवेलको निबन्ध पढ्दा एउटा वाक्यमुन्तिर पेन्सिलले पातलो धर्सा कोरेको थिए । त्यो धर्सामाथि उभिएका अक्षरहरूले भन्छन् – लेखन साहित्यवाट असम्पृक्त छ भन्नु पनि एउटा राजनीतिक वृत्ति हो । अरेलको ति शब्दहरूले मलाई वशीभूत पारेको थियो । कुनै खास सन्दर्भमा अरवेलले त्यो वाक्य लेखेका हुनन् । अरवेलको व्यक्तित्वमा सायद राजनीतिक पात्रत्व वढ्ता भएर पनि हुन सक्छ । तर सधैभरि उक्त वाक्य आप्त वाक्य हुनुपर्छ भन्ने छैन । तर पनि उक्त वाक्य सम्झिदा कताकता त्यो साहित्य पनि के साहित्य होला र जसले राजनीतिलाई आकर्षित गर्न सक्दैन ।

 

अब म सोचिरहेको छु – म यि दुई विचारहरुको अन्तरद्वन्द्वमा च्यापिएको छु , मेरो उत्तर के होला त ? कहिलेकही म साहित्यलाई समाजका सम्पूर्ण आयामको परतिर बसेको दागहीन आध्यात्मिक अनुभूति भनेर सिद्ध गरिदिन मन लाग्छ । तर यो पनि देख्छु कि यो समाज पार गरिसकेर अझै छुट्टै स्थानमा बसेको साहित्यलाई सिद्ध गर्न पनि समाजले बुझ्ने भाषा प्रयोग गर्नु पर्छ ।समाजलाई साहित्य किन ? यसको उत्तर यो होला कि त – 

 

शायद साहित्य मात्र समाजको दर्पण । एकमात्र दर्पण । साहित्य कथाहरूमा हुर्किन्छ । समाजका कथाहरू बटुल्छ, त्यसका प्रत्येक कण – प्रेम , शक्ति , वियोग , नैतिकता, न्याय जसको अवधारणाहरूको आधारमा समाजको संरचना कल्पना गर्न समेत सकिन्न , हरुको वास्तविकता प्रदर्शन गर्छ ।  तर वास्तविकताको विषय आउँदै गर्दा मेरो एउटा धारणा छ कि – यदि साहित्य वास्तविकता प्रदर्शन गर्नमात्रमा अल्झिन पुग्यो भने त्यो अपुग हुन्छ । साहित्य वास्तविक होइन , जीवन्त हुनुपर्छ । यस्ता धेरै “वास्तविक साहित्य “ छन् जो जीवन्त छैनन् र साँचो अर्थमा साहित्यिक बन्नबाट मुक्त छन् ।

 

अनि अर्को कुरा , साहित्य भनेको इतिहास हो । जुन विषय इतिहासका पानाहरुमा लुकाइन्छ , त्यो विषय साहित्यमा प्रकट भइछाड्छ । साहित्य र इतिहासको मूल फरक उद्गमस्थलमा रहेको छ । इतिहास विजयको गौरवबोधबाट उचालिएको मस्तिष्कबाट जन्मन्छ भने साहित्य हृदयबाट जन्मिन्छ र त्यो हृदयलाई ग्राह्य बनाउनका लागि वौद्धिकताले र दर्शनले चौहद्दीको रुपमा कार्य गर्छ । मस्तिष्क धेरै दुर्गन्धित स्थान हो , हामी हृदयमा ओर्लनुपर्छ । तर यो पङ्क्तिकारले मस्तिष्कलाई साहित्यमा निषेध गर्न खोजेको चाहि होइन । साहित्य चिया हो , तर जबसम्म चिया ग्लासमा राखिदैन तबसम्म पिउन गाह्रो हुन्छ । हो त्यही ग्लासको नाम मस्तिष्क हो । साहित्यलाई जथाभावी पोखिन नदिनु मस्तिष्कको जिम्मेवारी हो ।

 

साहित्य काव्यकर्म हो , आख्यान हो अनि आख्यान ( जसलाई काल्पनिक भनेर मानिसले बुझ्छन् )  सर्वोच्च सत्य हो । उत्कृष्ट साहित्य त्यही हुन्छ जसले काव्य या आख्यान र वास्तविकताको पार्थक्य मेटाइदिन्छ ।

 

 अनि अघिको प्रश्न – साहित्यको जीवन्तताको । समाजले सधै वैकल्पिक वास्तविकता खोजिरहेको हुन्छ । सृजनाको विराट विस्तृति भित्र वैकल्पिक वास्तविकता अटाउने प्रयास जुन साहित्यले गर्छ , शायद त्यही नै जीवन्त साहित्य हुन्छ । 

 

अहिलेलाई शहदेवको प्रश्नको उत्तर यहाँभन्दा बढी दिन सक्दिनँ। मलाइ माफ गरिदेउ ।

 

शहदेव ! मलाइ एउटा क्षण अनायासै सम्झना आयो। ख्यालठट्टामै सही, तिमीले भनेकाे थियौं – साहित्यकार हुन सजिलो छ, बस्यो, लेख्यो, शब्दसँग खेल्यो, पैसा कमायो। त्यसपछि तिम्राे लामो हाँसो, हा हा हा……। तर शहदेव म ख्यालठट्टा र प्रहसनलाई कहिले पनि क्षणिक मनोरञ्जनको रूपमा लिन। म यो मानवीय प्रवृत्तिप्रति प्रष्ट छु कि मानिस नैतिक बन्ने प्रयत्नमा मानिसले जीवनका समाजका गम्भीर विषयहरू हाँसीमजाकमा अभिव्यक्त गर्ने गर्छ। 

 

मेरो अवलोकनमा साहित्य समाजको लागि सदैव तत्पर रहन्छ, साहित्यकार  स्वयम् का लागि उसका कृतिहरु कहिले पनि उत्पादक बन्दैन। साहित्यकार समाजका हिन प्राणीहरूमध्ये एक हुन बाध्य हुन्छन्। इतिहासको, वर्तमानको र भविष्यको तीतो सत्य यही हो – साहित्य साहित्यकारको लागि कहिले राम्राे उत्पादक बन्न सक्दैन। कारण – सृजना नचाहँदा नचाहँदै पनि समाजको आँखामा विद्रोही भइदिन्छ।

 

यदि चाह्यो भने के हुन्छ हाेला? 

 

अनि यो लेखको अन्त्यमा तिमीले प्रश्न गर्लाउ – “ तिम्राे लेखमा विचारमात्रै छ उदाहरणहरू चाई कमी भयो। “

 

मेरो उत्तर यसप्रकार हुनेछ – “ह्या! तिमी उदाहरण अर्थात् विचारको व्यावहारिक प्रदर्शन मात्र नखोज न। सुन,  मसँग राम्रा राम्रा विचारहरू छन् ।”

 

  • Kanchan Kumar Basnet

Leave a Reply

Your email address will not be published. Required fields are marked *