भो कृष्ण! अब म गाण्डिव उठाउदिन
हो जीवन एक युद्ध हो,
कल्पौं कल्पसम्म हरेक जुनीमा,
हजुरको गीता सुनेर,
मैले मेरो गाण्डिव उठाएको छु ।
पराया विरुद्ध त के कुरा,
आफन्त विरुद्ध युद्ध गरेको छु ।
कहिले स्त्री रक्षाको नाममा त,
कहिले श्रीसम्पत्ति रक्षाको नाममा,
संधै संधै मैले गाण्डिव उठाएको छु।
कहिले धर्म रक्षाको नाममा त,
कहिले सीमा रक्षाको नाममा,
संधै संधै मैले गाण्डिव उठाएको छु।
कहिले जाति रक्षाको नाममा त,
कहिले वर्गसंघर्षको नाममा,
संधै संधै मैले गाण्डिव उठाएको छु।
कहिले सिद्धान्तको लागि त,
कहिले आफ्नै स्वाभिमानको लागि,
संधै संधै मैले गाण्डिव उठाएको छु।
तर हे कृष्ण!
अति भयंकर छ आवाज,
हजुरको पंचजन्य शंखको ।
भो अब त म तान्दिन,
प्रत्यञ्चा मेरो गाण्डिवको ।
मैले हिरोशिमा र नागासाकी,
खरानी भएको देखेको छु ।
लाखौं निरीह निर्दोषहरूका,
चित्कार सपनामा सुनेको छु ।
पृथ्वी र स्वर्गको लालसामा,
पश्चातापको अग्निमा जलेको छु ।
हजुरको जडवाद र आत्मवादको,
अद्भूत विश्लेषणात्मक ऊहापोहमा,
बुद्धको करूणामय हृदय विर्सेको छु ।
भो अब त म तान्दिन,
प्रत्यञ्चा मेरो गाण्डिवको ।
म त कारण अब बन्दिनं,
विनाशको च्याउआँधीको ।
हे ज्ञानी विज्ञानी ब्रम्हज्ञानीहरू,
धरती नष्ट गर्ने ब्रह्मास्त्र न नचलाऊ ।
सक्छौ भने अविधा मेटाई
अहंकार र तृष्णा मेटाऊ।
मैत्री र करूणाको मल्हमले
निरीह निर्दोषहरुका आर्त मेटाऊ
– रंजन लेखि