मलाई मन पर्ने तीन पुस्तकहरु

  1. मेरो आजसम्मको जीवनको अधिकांश आयु शायद अक्षरमा व्यतीत भएको छ। त्यसैले मेराे लागि तीनवटा प्रिय किताब चयन गर्नु अतिशय अफ्ठेरो काम हो। यद्यपि यस स्तम्भ/ अंकको औपचारिकताकोे लागि भए पनि मैले तीन किताब छान्न बाध्य हुनेछु। त्यसैले यो श्रृङ्खलाको सुरूवात सबै श्रेष्ठतम् लेखकहरूलाई जसले मलाई किताबमा बाँच्नुकोे , अनि त्यसबाट अनुप्रणीत बाह्य जीवनको आनन्द प्रदान गरे।

 

१. The Brothers Karamazov 

 

प्रसिद्ध लेखक फ्योडोर डोस्टोएभ्सकीकोे अन्तिम उपन्यास हो। अनि उनको यस्तो पहिलो उपन्यास जसलाई लेख्नकोे लागि उत्प्रेरित गर्ने तत्वमा उनको हार्दिकता ज्यादा मात्रामा थियो न कि व्यावहारिक जीवनवृतिको उल्झन। यदि जीवनमा कसैलाई एउटा मात्र उपन्यास पढ्नु छ भने यही उपन्यास पढे हुन्छ। 

 

कथा हत्याको हो। स्वाभाविक हो हत्याको कथा मानिसलाइ सशंकित तुल्याउने हुन्छ। तर ती हत्या – कथा भित्रका मनोवैज्ञानिक, सामाजिक, नितान्त वैयक्तिक पक्षका  गहनतम् अभिव्यक्ति स्वयं हत्या कथा भन्दा सशंकित तुल्याउने प्रकारको हुन्छ। किनभने यो प्रक्रिया ( दार्शनिक ) जीवनलाई समग्रतामा हेर्ने कार्य हो र यस समग्रतामा के सफलता के विफलता, के पाप के पुण्य, के नैतिक के अनैतिक…छुट्टयाउन नसकिने हुन्छ। The Brothers Karamazov यी सबै प्रकृयाको श्रेष्ठतम रचना हो। यसले अस्तित्ववादको साँचो अर्थ औँल्याएकोे बेला म आफू नै अच्चमित परेको छु। 

 

कमसेकम मेराे लागि The Brothers Karamazov भन्दा साहित्यको श्रेष्ठतम उपलब्धि हुन सक्दैन । Fyodor Dostoevsky कोे हरेक कृति कुनै न कुनै रूपमा विशिष्ट छ। र, Fyodor Dostoevsky साहित्यको स्वयम् पर्याय नाम हो भन्दा अत्युक्ति हुँदैन। 



  1.  War and Peace

    Leo Tolstoy आफै यो कृतिलाई उपन्यासकाे रेखामा उभ्याउन चाहँदैनन्। यसमा आख्यान छ, इतिहास छ, लामा लामा दार्शनिक व्याख्या छन्। मलाइ पनि लाग्छ यो किताब उपन्यास भन्दा अधिक हो। नेपोलियनले सोभियतमा गरेको आक्रमणकोे कथा हो तर नेपोलियन यसका नायक हैनन् । इतिहासलाई सर्वाथा भिन्न प्रकारले गरिएको व्याख्या हो। नेपोलियनलाई नैं समग्र इतिहासको दिशानिर्देशककोे रूपमा हेरिने दृष्टिकोणलाई Tolstoy ले आख्यान, दार्शनिक व्याख्यान, मानवीय संवेदना, नैतिकता .. यी सबै आयामलाई भङ्ग गरेका छन्। किताबको मुख्य पात्रझै रहेको पियरेकोे विचार, जीवनशैलीमा आएको परिवर्तन स्वयम लेखकमा आएको परिवर्तनको औपन्यासिक परिवर्तन हो।

    Leo Tolstoy सरल भएर पनि गहन छन्। मानव संवेदना, भङ्गिमा, व्यक्तित्वमा आउने क्रमिक परिवर्तनलाई उपयुक्त बहावमा लेख्न सक्ने लेखक उनीमात्र हुन्। Dostoevsky मा त्यस्तो बहाव अपेक्षा गर्नु गलत पनि हुन्छ किनकि उनी मानिसको मनोविज्ञानकोे जगतमा डुबेर लेख्ने लेखक हुन्, अनि मनोविज्ञानको गहिरो जगतलाई शब्दमा जस्ताको तस्तै उतार्न खोज्दा जटिलता , क्लिष्टता आउनु स्वाभाविक पनि हुन जान्छ ।

    War and Peace साहित्य जगतको सर्वश्रेष्ठ सृजनामध्ये एक हो।

  2.  बीपीका उपन्यास

 

साहित्यकार ( राजनेता कम ) बीपी कोइरालाकोे सम्पूर्ण उपन्यासलाई साझा प्रकाशनले एउटा सिङ्गो भोल्युमकोे रूपमा प्रकाशन गरेको छ। ती बीपीको राजनीतिक जीवनलाई अलग्याएर उनीभित्र रहेको अराजकताकोे अभिलेख हो। उनको जीवन, अध्ययन, अनुभब यी सबैको वैयक्तिक छाप हो उनका उपन्यास। यसमा उनका सम्पूर्ण उपन्यास यसमा सङ्ग्रहित छन्। बीपीले मेराे किशोरकाललाई पोषण दिएका छन् त्यसका लागी उनीप्रति अतिरिक्त स्नेह छ। मैंले लगभग उनका सबै कृति १६ वर्षभित्र पढीसकेको थिए। र त्यस समय मेराे लागि उनिजतिको आदर्श कोही थिएन। चाहे राजनीतिक विचारमा होस् या साहित्यको क्षेत्रमा। उनले नै मलाइ रूसी लेखकहरू Dostoevsky, Tolstoy, Chekhov फ्रान्सेली लेखक  Hugo, Sartre, Camus ( अल्जेरियामा जन्मिएका) सँग परिचयको सानो धागो बाधिदिएका थिए। उनको शैली, शब्द, वाक्य संगठन, विचार, मनोविज्ञान, अस्तित्व चिन्तन…यी सबको म साक्षी हूँ। हरेक राजनीति क्षेत्रमा हात हाल्न खोज्ने मान्छेले उनको राजनीतिक अभिलेख मात्र होइन हरेक आख्यान पढ्नु पर्छ, उनको जस्तो भावुकतालाई ग्रहण गर्नु पर्छ।



यि हुन मेरो प्रिय तीन किताब। तर यि बाध्यताका उपज हुन्। यसमा कति नाम छुटे साध्य छैन। Dostoevsky का लगभग सबै उपन्यास मेराे प्रिय किताब हुन् । Leo Tolstoy का Confessions, Religious Writings, What is Art ,The Kruetzer Sonata …सबै मेरो प्रिय किताब हुन्। दार्शनिक Soren Kierkegaard, Nietzsche.. कति किताब यसमा छुटे। नेपाली साहित्यमा इन्द्रबहादुर राई, ध्रुवचन्द्र गौतम, देवकोटा…यस्ता धेरै नाम छुटे। 

 

अरू अङ्कहरूमा यि नाम समेटिने छन् हाेला पक्कै। 

 

लेखक: कन्चन बस्नेत





Leave a Reply

Your email address will not be published. Required fields are marked *