आजको रात अत्यधिक उल्कावर्षा हुँदै; हेर्ने हैन त तारा खसेको?
पुष १९, बेलका। आज शुक्रबार राति अत्यधिक मात्रामा उल्कावर्षा हुने नेपाल एस्ट्रोनोमिकल सोसाईटी (नासो) द्वारा जनाइएको छ।विगत १७ वर्षदेखि लगातार नेपालको खगोल तथा अन्तरिक्ष विज्ञानको क्षेत्रमा कार्यरत संस्था नासोले आज एक विज्ञप्ति जारी गर्दै आजको रात अत्यधिक उल्कावर्षा हुने जानकारी गराएको हो।
नासोले विज्ञप्ति जारी गर्दै पुष १३ गतेदेखि २८ गते सम्म यस उल्कावर्षा सक्रिय हुने भएतापनि आज भने अत्यधिक रुपमा प्रतिघण्टा ५० देखि १५० वटा सम्म उल्कावर्षा हुने जनाईएको हो।
पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलाका कणहरू तथा चट्टानहरु पृथ्वीको वायुमण्डलमा तिव्र गतिमा ठोक्किने हुँदा घर्षण पैदा भई करिब ७० किमी माथि वायुमण्डलमा जल्ने गर्दछ जसलाई हामीले पृथ्वीको सतहबाट हेर्दा चम्किलो प्रकाशको धर्सा जस्तो देखिन्छ त्यसलाई नै उल्कावर्षा भन्ने गरिन्छ। यस खगोलीय घटनालाई नेपाली समाजको जनजिब्रोमा तारा झरेको/ खसेको पनि भन्ने गरिन्छ भने अंग्रेजीमा फलिङ स्टार/शूटिंग स्टार समेत भन्ने गरिन्छ।