पुष २०, बेलका। नेकपा माओवादी केन्द्र बेलका नगर कमिटीका अध्यक्ष मनोज तामाङ्गले वैचारिक तालाबन्दी गर्ने अभिव्यक्ति दिएका छन्। गत पुष १८ देखि बेलका नगरपालिकाको कार्यालयमा नगरपालिकामा भएको लापरवाही तथा खराब सुशासनको विरोध गर्दै बेलका नगर कमिटी नेकपा एमालेले प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकारीको कार्यकक्षमा तालाबन्दी गरेपश्चात पुनः हिजो नेकपा एमाले लगायतका अन्य ४ दलहरु मिलेर विरोध जनाउँदै संयुक्त विज्ञप्ति निकालेका थिए।
त्यसै क्रममा यता नेकपा माओवादी केन्द्रले भने अहिलेसम्म कुनैपनि प्रतिक्रिया जनाईएको थिएन। शनिवार अध्यक्ष तामाङ्गसँग बेलका पोष्टले कुरा गर्दा आईतबार माओवादी केन्द्र बेलका नगर कमिटीको आन्तरिक बैठक बस्ने तयारी भईरहेको जनाए। उक्त कुराकानीमा तामाङ्गले रोजगार सहायकको पदको लागि नक्कली व्यक्तिलाई नगरपालिकामा हाजिर गराईएको सम्बन्धमा माओवादी केन्द्रले सम्पूर्ण घटनाहरुलाई नियालिरहेको र दोषी नगरपालिकाको ‘जनप्रतिनिधि’ होस् या ‘कर्मचारी’ कसैलाई नि माओवादी केन्द्रले नछोड्ने भनी चेतावनी समेत दिएका छन्। उँहा बताउनुहुन्छ “ हामी विकल्प सहितको विरोध गर्नेछौ, निर्विकल्प विरोध मात्र गर्दैनौ, वैचारिक वहस गर्नेछौ, भौतिक रुपमा हैन विचारको ताला लगाउनेछौ।”
पछिको समय रोजगार सहायकको पदमा कर्मचारी नियुक्ति गर्ने सम्बन्धमा परीक्षा तथा नियुक्ति सम्बन्धी कुनैपनि प्रक्रियामा सहभागी नै नभएको व्यक्तिलाई नगरपालिकाले काम सुरु गर्न हाजिर गराएको थियो। यसै घटनालाई केन्द्रमा राखी नगरपालिकामा अहिले तालाबन्दी र खैलोबैलो मच्चिरहेको छ।