“बेलकाका जनतालाई गुमराहमा राखी नेपाली कांग्रेस र नेकपा एमालेको मिलोमतो” – नेकपा माओवादी केन्द्रको आरोप
पुष २२, बेलका। बेलका नगरपालिकामा भएको तालाबन्दी र तालाबन्दी पश्चात भएको वार्ताको निष्कर्षप्रति असन्तुष्ट जनाउँदै नेकपा माओवादी केन्द्र बेलका नगर कमिटिले आइतबार एक विज्ञप्ती निकालेको छ ।नेकपा एमाले र नेपालि काँग्रेस बिच मिलेमतो भएको समेत नेकपा माओवादी केन्द्र ले आरोप लगाएको छ ।
“५, ६ दिनसम्म नेकपा एमाले र नेपाली काँग्रेसले नगरपालिकाको कार्यालयहरू बन्द गराई जनताको कामप्रति अलिकति पनि सम्वेदनशील नभई पुनः के के कुरामा आन्तरिक सहमति गरी जनतालाई गुमराहमा राखी तालाबन्दी खोलिएको हो ?” भनी प्रश्न गर्दै जनतालाई सो कुराको स्पष्ट जानकारी नदिएसम्म क्रमिक रुपमा सहयोगको आन्दोलन गर्ने विज्ञप्तिमा जनाईएको छ।
गत पुष २१ गते नेकपा एमाले सहित अन्य चार दलहरु सहितका वार्ता टोलीले बेलका नगर सरकारसमक्ष वार्ता गरेको थियो। वार्ताको ५ बुँदे सहमति अनुसार तत्काल तालाबन्दी खुलाई आम सेवाग्राही जनताका लागि सेवा प्रवाह गर्ने भनी प्रमुख प्रशासकीय अधिकृतको कार्यालय र सूचना अधिकारीको कार्यालयमा लगाइएको ताला खुलाइएको छ। उक्त सहमतिकै बुँदा अनुसार प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकारीलाई छानबिन कार्यमा सहजिकरण गर्न ५ दिनसम्म कार्यालयमा हाजिर नगराउने जनाईएको छ। तर आम नागरिकस्तरमा नगरपालिकाले गर्ने विभिन्न किसिमका रकम भुक्तानीहरु विलम्ब भइरहेको गुनासाहरु प्रशस्तै आइरहँदा निमित्त प्रमुखको हस्ताक्षमा नगरपालिकाको कुनैपनि आर्थिक लेनदेन तथा कारोबारहरु हुन सक्दैन।
पछिल्लो समय रोजगार सहायकको पदमा कर्मचारी नियुक्ति गर्ने सम्बन्धमा परीक्षा तथा नियुक्ति सम्बन्धी कुनैपनि प्रक्रियामा सहभागी नै नभएको व्यक्तिलाई नगरपालिकाले काम सुरु गर्न हाजिर गराएको घटनाको विषयलाई लिएर नेकपा एमाले बेलका नगर कमिटीले तालाबन्दी गरेको थियो। यस घटनाको सत्यतथ्य छानबिन गर्नका निमित्त ५ सदस्यीय छानबिन समिति गठन समेत गरिएको छ। उक्त समितिमा ३ जना नगरपालिका जनप्रतिनिधि छन् भने दुई जना तालाबन्दी गर्ने ५ राजनैतिक दलहरुका प्रतिनिधि रहेका छन्।