उ देव हो कि असुर !
-रंजन लेखी
फत्तेपुर, सप्तकोशी
मान्छे आखिर पशु न हो शिकार गर्छ अनि खान्छ,
तर दिव्य देउता किन रक्त पिपासु भएको छ?
दिव्यता गुमाएको त्यो अबिर मालामा लुकेको,
या त उ कुनै असुर हो वा कुनै पिशाच राक्षस।
दिव्य देवी देउताको भोजन दिव्य नै हुनुपर्छ ,
रक्तरञ्जित प्राणीहरुको सिनो उ त कहां खान्छ?
लोभी द्वेषी मोही घृणित र विद्रुप प्रतिमूर्ति त्यो,
या त उ कुनै असुर हो वा कुनै पिशाच राक्षस।
देवत्व पीडा दिनुमा होईन रक्षा गर्नुमा हुन्छ,
माईमा ममता हुन्छ उसमा क्रूरता कहाँ हुन्छ?
सिंहनी त करुणा राख्छे पाठोमा तर नराख्ने त्यो,
या त उ कुनै असुर हो वा कुनै पिशाच राक्षस ।
पाखण्डीको धार्मिक स्वतन्त्रतामा कुतर्क नै हुन्छ,
हिंसा नै धर्म हो भने अधर्म कसलाई भनिन्छ?
बलि दिनेले खोई आफ्नै सन्तानको बलि दिएको,
या त उ कुनै असुर हो वा कुनै पिशाच राक्षस ।
लाखौं करौडौं निरिह प्राणीहरुको बलि दिइन्छ,
तर कहाँ कसैको जगतमा कल्याण भएको छ?
अन्धभक्त त अकाल मर्दछन् खोई रक्षा गरेको,
या त उ कुनै असुर हो वा कुनै पिशाच राक्षस ।
अशिक्षा गरिवी रोग भोक शोक छ सुख कहाँ छ?
कमैया बनाइएका छौ त आत्मसम्मान कहाँ छ?
दलित पिडितको किन उद्धार गर्न नसकेको?
या त उ कुनै असुर हो वा कुनै पिशाच राक्षस ।
स्वार्थ र परार्थको सन्तुलित कल्याण नै हो धर्म,
मूर्ख र पाखण्डीहरुका लागि त अफिम हो धर्म,
कहीं कुनै सन्त मुनि ऋषिको मूर्ति त होईन त्यो?
या त उ कुनै असुर हो वा कुनै पिशाच राक्षस ।
(समाप्त)