उदयपुरमा महिला सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर: १ जनामा पाठेघरको क्यान्सर पुष्टि
माघ ६, बेलका। उदयपुरको बेलका नगरपालिका वडा नं ९ अन्तर्गत वरपिपल माध्यमिक विद्यालयस्थित महिला साना किसान कृषि सहकारी संस्थाको आयोजना, युनिभर्सल युथ ग्रुप तथा युनिभर्सल गुप्त रोग स्वास्थ्य सेवा केन्द्र उर्लाबारीको प्राविधिक सहयोग र ९ नं वडा कार्यालय बेलका नगरपालिकाको समन्वयमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। समुदायका महिलाहरूमा हुने पाठेघर सम्बन्धी तथा गुप्त किसिमका रोगहरूलाई पहिचान गरी उपचार गर्ने यस शिविरको मुख्य उद्धेश्य रहेको युनिभर्सल युथ ग्रुप तथा युनिभर्सल गुप्त रोग सेवा केन्द्र उर्लाबारीका कार्यक्रमको संयोजक राजीव बस्नेतले जनाउनुभयो।
कार्यक्रमलाई निरीक्षण गर्दै बेलका नगरपालिकाका नगर उप-प्रमुख जिरा राईले स्थानीय स्तरमै महिला सम्बन्धी स्वास्थ्य सेवाको पहुँच ल्याएकोमा खुशी व्यक्त गर्दै नगर सरकारले समेत यस प्रकारका कार्यक्रम ल्याउनुपर्ने विषयमा जोड दिनुभयो।
आफ्नै वडामा महिला स्वास्थ्य समबन्धि महत्वपूर्ण कार्यक्रमहरु आयोजना गर्ने संस्था – ‘महिला साना किसान कृषि सहकारी संस्था’ तथा प्राविधिक सहयोग गर्ने संस्था – ‘युनिभर्सल युथ ग्रुप तथा युनिभर्सल गुप्त रोग स्वास्थ्य सेवा केन्द्र उर्लाबारी’ लाई धन्यवाद व्यक्त गर्दै यस्ता महतत्वपूर्ण कार्यक्रमहरु आयोजना गर्न वडा स्तरबाट सहयोग तथा समन्वय गर्न आफू हरदम तत्पर रहेको वडा नं ९ का अध्यक्ष भरत घिमिरेले जनाउनु भयो।
वि. स. २०६९ सालमा बेलका -०९ स्थित स्थापना भएको महिला साना किसान सहकारी संस्थाले गरिव, पिछडिएका आदिवासी जनजाति समग्र समुदायका महिलालाई समेटेर उनीहरूका क्षमता अभिवद्धिका लागि सिपमुलक तालिम तथा महिलाहरुका स्वास्थ्य समस्या सम्बन्धी विभिन्न किसिमका शिविरहरु सञ्चालन गर्दै आइरहेको महिला साना किसान सहकारी संस्था लिमिटेड रामपुरकी अध्यक्ष कल्पना राउतले बताउनु भयो।
यस शिविरमा जम्मा २३० जना महिलाहरुले आफ्नो स्वास्थ्य नि:शुल्क जाँच गराएका छन्। रगत जाँच तथा अन्य औषधि उपचारसमेत नि: शुल्क रहेको यस शिविरमा विशेष गरी महिलाहरुको पाठेघर सम्बन्धी समस्या तथा गुप्त रोगहरू जाँच गरिएको हो।
१३० जना महिलाहरुलाई महिला रोग विशेज्ञ डा. विद्या पोखरेलले जाँच गर्नुभएको छ भने ६५ जना महिलाहरुलाई जनरल सर्जन डा. प्रवीण कुमार यादवले जाँच गर्नुभएको हो। ४० जना महिलाहरुले निःशुल्क ल्याब सेवा उपयोग गरेका छन् । जाँचको क्रममा ८० जना महिलाहरुले पाठेघरको क्यान्सर समबन्धि जाँच गरेका थिए जसमा ३४ जना महिलाको पाठेघरको अवस्था अस्वस्थ देखिएको छ । जसमा १ जनालाई पाठेघरको क्यान्सर पुष्टि भएको छ भने ४ जनालाई पाठेघरको क्यान्सर हुनसक्ने उच्च शंका गरिएको छ। यसै जाँचमा ३० जना महिलाहरुले गुप्त रोग समबन्धि सेवा लिएका छन्