बेलका नगरपालिकाको आर्थिक भुक्तानी तथा लेनदेनको पाटो अस्तव्यत
बेलका नगरपालिकामा गत एक महिना अघिदेखि आर्थिक कारोबारहरु ठप्प भएपछि नागरिकहरु निकै मारमा परेका छन्। विभिन्न विधाका भुक्तानी रकमहरू प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर बिना लेखा शाखामा अड्केर बसिरहेका छन्।
कहाँ गए त प्रमुख प्रशासकीय अधिकृत ?
गत पुष १० गते एक कार्यक्रमका लागि काठमाडौँ हानिएका मेयर, उप मेयर, प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीहरु सहितको टोलीमा प्रमुख प्रशासकीय अधिकृत अझैपनि कार्यालय फर्की सकेका छैनन्।
प्रमुख प्रशासकीय अधिकृत किन कार्यालय आएका छैनन् ?
काठमाडाैँको कार्यक्रम पुष गते सकियो। अब प्रमुख प्रशासकीय अधिकृत आउँछन् अनि सबैको काम बनिहाल्छ भन्ने आशा थियो। तर सँगै गएका मेयर उप मेयर तथा अन्य कर्मचारी कार्यालयमा आइसक्दा उनी आएका थिएनन्। निमित्त प्रमुखको जिम्मेवारी सूचना अधिकृत सञ्जय रेग्मीलाई थियो। त्यो अझै पनि निरन्तर नै रहिरहेको थियो। त्यसै क्रममा गत कार्तिक ०७ गते नगरपालिकाले रोजगार सहायकको पदमा कर्मचारी भर्ना गर्न विज्ञापन प्रकाशन गरेको थियो। त्यसै अनुरूप उक्त पद पूर्तिका सैद्धान्तिक तथा प्रयोगात्मक परीक्षाहरु लगायत सम्पूर्ण प्रक्रियामा सामेल भई बेलका नगरपालिका वडा नं २ का दिव्यराज अधिकारीले नाम निकालेका थिए। नाम निस्केपछि पुष ९ गते
पालिकामा नियुक्तिका लागि निवेदन पेश गर्न बेलका २ कै दिव्यराज अधिकारी नै नाम रहेका तर अर्का व्यक्ति नियुक्ति लिन गए। पालिकामा नयाँ कर्मचारी नियुक्ति लिन आएको देखेपछि नगर प्रमुख अशोक कार्कीले बधाई दिइहाले। त्यसदिन नियुक्ति निवेदन पेश भएको थियो। उनी पुष ११ गते फेरि पालिका गए। प्रशासन फाँटमा “हाजिर गराएर काम सुरु गर्दै गर्नु, नियुक्ति चै म आफै आएर दिन्छु” भन्ने प्रशासकीय अधिकृतको निर्देशन अनुसार निमित्त प्रमुख सञ्जय रेग्मीले उनलाई हाजिर गराएर रोजगार शाखामा पठाए। ती नक्कली दिव्यराज काम सुरु गर्न रोजगार शाखा पुगेपछि रोजगार शाखा प्रमुख विमला थापाले त्यस व्यक्तिमाथि शंका गरे। त्यसपछि ती नक्कली व्यक्तिले आफूमाथि शंका गरेको सुइँको पाएपछि छुट्टी मागेर त्यहाँबाट टाप कसे। विमला थापा प्रशासन शाखा गएर जाँचबुझ गरी हेर्दा ती व्यक्ति नक्कली दिव्यराज अधिकारी भएको पुष्टि भएको थियो।
यहीँ घटनालाई केन्द्रमा राखी नेकपा एमाले बेलका नगर कमिटीले पुष १८ गते नगरपालिकामा कर्मचारीको चरम लापरवाही र सुशासनको स्तर ह्रास भएको भन्दै विरोध जनाउँदै प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्यो। सोही दिन बेलका नगर सरकारले वार्ता गरायो, उक्त वार्ता कुनैपनि निष्कर्ष बिना नै टुङ्ग्यो।
पुष १९ गते नेकपा एमाले बेलका नगर कमिटी सहित अन्य ४ चार दल मिली संयुक्त रुपमा अझ शसक्त विरोधको विज्ञप्ती निकाले।
पुष २० गते फेरि बेलका नगर सरकारले विरोधी पक्षहरुसँग वार्ता गर्दा ५ बुँदे सहमति अनुसार वार्ता टुंगियो। उक्त सहमति अनुसार तालाबन्दी त्यहिदिन खुल्ला भयो, उक्त नक्कली व्यक्ति नियुक्तिबारे छानबिन समितिले ५ दिनभित्र सत्यतथ्य बाहिर ल्याउने त्यतिन्जेलसम्म प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे र सूचना अधिकारी सञ्जय रेग्मीलाई कार्यालयमा उपस्थित नगराउने भन्ने निर्णय भएको भयो।
नगर उप प्रमुख जिरा राई संयोजक रहेको छानबिन समितिले प्रतिवेदन नगर प्रमुखलाई बुझाइसके र माघ ४ गतेका दिन कार्यपालिकामा प्रस्तुत समेत गरिसके। प्रतिवेदनमा कुनै जालझेल तथा मिलोमतोमा त्यस्तो घटना घटाइएको बारे कुनै ठोस प्रमाण नभेटेको तर आफ्नो नाम र ठेगाना मिलेकै आधारमा उक्त व्यक्ति नियुक्ति लिन नगरपालिका पुगेको देखायो। तर अझैपनि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत तथा सूचना अधिकारी उपस्थित हुन सकेका छैनन्।
गत माघ -०४ गते बसेको कार्यपालिका बैठकमा उहीँ प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे लाई निरन्तरता दिई नगरपालिकामा उपस्थित गराउने की अर्को प्रमुख प्रशासकीय अधिकृत ल्याउने भन्ने विषयमा दोहोरी चल्दा ठोस निष्कर्ष आउन सकेको थिएन। नसकेपछि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत आउँछन् अनि आर्थिक कारोबार सुरु हुन्छ भन्ने अनिश्चितताको लम्बाई अझै बढेको छ।
बेलका नगरपालिकामा कर्मचारीहरूका चरम लापरवाही त आम नागरिकहरूमा स्वतः पुष्टि भइसकेकै विषय हो। यसले सुशासन स्तरमा पारेको दख्खल आम नागरिकहरूले भोगी नै रहेका छन्। यस विषयहरूमा केन्द्रित रहेर नागरिकमुखी नीति बनाउन नीतिगत सुधार तथा आवश्यक कर्मचारी कडाईका पक्षहरूमा कहीँ कतैपनि छलफल भएको देखिँदैन। यसको सट्टा आफ्नो एजेण्डा अनुरुप प्रमुख प्रशासकीय अधिकृत नहुनेहुँदा यहीँ मौकामा प्रमुख प्रशासकीय अधिकृतलाई जोडतोडका साथ नगरपालिकाबाट विदाई गराउनलाई लागि परिरहेका एक हुल र आफ्नो एजेण्डा अनुरुप प्रमुख प्रशासकीय अधिकृतले काम गरिरहेकाले उनलाई यस नगरपालिकामै राखिरहन चाहनेहरूको अर्को हुलका राजनैतिक स्वार्थ नमिल्दाको धक्काले बेलका नगरपालिकाको विकासको न्यून गतिलाई अति न्यून पारिरहेको छ। यस समग्र नगरपालिकाका आमा नागरिकहरुका वर्तमानमा र भविष्यमा नै असर पारिरहेको स्पष्ट छ।