प्रकृति लम्सालको शव आज घर ल्याउने

७ फागुन, काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालको शव आज घर ल्याउने तयारी गरिएको छ ।

शव नेपाल ल्याउनका लागि भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय भइरहेको उनका आफन्तले जनाएका छन् । आज साँझसम्म ल्याइपुर्‍याउने कुरा भएको प्रकृतिकी फुपू सीता ढकालले बताइन् । प्रकृतिको शङ्कास्पद मृत्यु भएको खबर आएपछि बुबा सुनिल लम्साल ओडिसा पुगेका छन् । उनले मंगलबार प्रहरी अधिकारीहरुसँग भेटेर न्याय पाउनुपर्ने बताएका थिए ।

गत आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । साँझबाटै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै दमन गरेको थियो ।

 

चर्को आलोचना भएपछि भने विश्वविद्यालय प्रशासनले केही कर्मचारीलाई बर्खास्त गरेको छ भने केहीलाई निलम्बन गरेको छ । नेपाली विद्यार्थीलाई धम्क्याएको विश्वविद्यालय र प्राध्यापक मन्जुशा पाण्डेले पनि माफी मागेकी छन् ।

प्रकृतिलाई ब्ल्याकमेल गरेको आरोप लागेका अड्विक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेर न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । श्रीवास्तवले पटकपटक यातना दिएको विषय प्रमाणसहित उजुरी दिंदा पनि कलेजले लापरबाही गर्दा प्रकृतिले मृत्युवरण गर्नु परेको भन्दै केआईआईटीको आलोचना भएको छ । कलेजले उल्टो पीडकलाई नै साथ दिएको आरोप छ ।

यो घटनालाई लिएर नेपाल र भारतका विद्यार्थी आन्दोलित भइरहेका छन् भने संसदमा पनि प्रश्न उठेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *