पाँचथर —इलाम–४ स्थित जस्बिरे चिया उद्योगमा मंगलबार राति आगलागी हुँदा करोडौंको क्षति भएको छ । आगोले उद्योगका उपकरणसँगै विदेश पठाउन तयार गरिएको चियासमेत क्षति गरेको छ ।
राति ९ बजे सल्केको आगोले तयारी चियासँगै क्याबिनेट ड्रायर, रोलिङ मेसिन, सेटिङ मेसिन, सटिङ मेसिन र वेदरिङ ट्रफजस्ता सामग्री जलाउँदा ८ करोड रुपैयाँ बराबरको क्षति भएको उद्योगका सञ्चालक गृष्म सुब्बाले बताए । ‘जलेको चियाको मूल्य ४ करोड रुपैया पर्थ्यो,’ उनले भने, ‘क्षति पुगेका सामानको मूल्य ४ करोडजति पर्छ ।’ विद्युत् सर्ट भएर उद्योगमा आगो सल्केको प्रहरीको अनुमान छ ।
सञ्चालक सुब्बाका अनुसार उद्योगमा सुइँरोबाट तयार गरिएको स्पेसल टी, गोल्डेन टी, सिल्भर टी, आमा ओलाङसहित विभिन्न प्रकारका झन्डै ३० हजार किलो चिया भण्डारण गरिएको थियो । ‘नेदरल्यान्डस्, अमेरिका, डेनमार्क र फ्रान्स पठाउने तयारी रहेको चिया क्षणभरमै खरानी भयो,’ उनले भने ।सुब्बाका अनुसार उद्योगमै आउनेले गुणस्तर हेरी प्रतिकिलो २ हजारदेखि १२ हजार रुपैयाँसम्ममा चिया खरिद गर्थे, काठमाडौं पुर्याउँदा २४ हजार रुपैयाँमा बिक्थ्यो, त्यही चियाको मूल्य चीनमा नेपाली १ लाख र आमा ओलाङ भन्ने चिया अमेरिकामा ५० ग्रामको १४ डलरमा बिक्थ्यो । उद्योगबाट उत्पादित चिया सुनकेसरी, रेडपान्डा, कोठीडाँडा ब्युटीजस्ता ब्रान्डबाट विदेश निर्यात हुन्थ्यो ।
जस्बिरे चिया उद्योग गृष्म र उनका भाइ शरदले सञ्चालन गर्दै आएका थिए । आगो निभाउने क्रममा शरद घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौंको कीर्तिपुर अस्पताल पठाइएको छ । शरद नेपालकै अनुभवी र सिपालु चिया प्राविधिकका रूपमा चिनिन्छन् । उनी केही महिनाअघि काठमाडौंमा आयोजित ‘नेपाल टी च्यालेन्ज–२०२४’ मा नेपालकै ‘बेस्ट टी मेकर’ का रूपमा पुरस्कृत भएका थिए । जस्बिरे उद्योगले तीन सयभन्दा धेरै किसानको चियापत्ती खरिद गरेर प्रशोधन गर्थ्यो ।
जस्बिरे चिया उद्योग सदरमुकामदेखि ७ किलोमिटर टाढा छ । आगलागी सुरु हुनासाथ आगो निभाउन दमकल बोलाइएको थियो, इलाम र देउमाई नगरपालिकाबाट दुइटा दमकल झिकाइए पनि बाटो साँघुरो भएकाले आइपुग्न ढिला भएको गृष्मले बताए । ‘आगो तत्काल नियन्त्रण गर्न नसक्दा धेरै क्षति भयो,’ उनले भने । उनका अनुसार राति ९ बजे सुरु भएको आगलागी बिहान ३ बजे मात्रै नियन्त्रणमा आएको थियो ।