फागुन १७ उदयपुर । उदयपुरको बेलका नगरपालिका वडा नं.-१ को एक सामाजिक संस्थाकाे रुपमा रहेको ‘सहयोगी युवा हातहरू’ ले अति विपन्न वर्गका गंगामाया परियारका लागि घर निर्माण गरेर हस्तान्तरण गरेको छ । यही फागुन १५ गते बिहान आयोजित एक घर हस्तान्तरण कार्यक्रमबिच संस्थाले गंगामाया परियारलाई उक्त घर हस्तान्तरण गरेको हो । संस्थाका अध्यक्ष टिका योञ्जनका अनुसार संस्थाका सदस्यहरुकै आर्थिक सहयोग, जनसहभागिता र अन्य समाजसेवी तथा व्यापार व्यवसायीहरुका सहयोगद्वारा उक्त घर निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको हो।
संस्थाका अध्यक्ष टिकाराज तामाङको सभापतित्व र बेलका नगरपालिकाका उपप्रमुख जिरा राईको प्रमुख आतिथ्यता रहेको सो घर हस्तान्तरण कार्यक्रममा निवर्तमान नगर प्रमुख दुर्गा कुमार थापा (स्वस्ती), सप्तकोसी नगरपालिका वडा नं-२ का वडा अध्यक्ष जाहिर हुसेन, धरानका समाजसेवी आशोक अग्रवाल लगायत विभिन्न बुद्धिजीवी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।
सहयोगी युवा हातहरूका अध्यक्ष टिकाराज तामाङका अनुसार गंगामाया परियारको घर निर्माणका लागि विभिन्न संघ संस्था र व्यक्तिहरूले आर्थिक तथा भौतिक रुपमा सहयोग गर्नुभएको थियो । सहयोगको क्रममा समाजसेवी अशोक अग्रवालले ३८ हजार रुपैयाँ बराबरको कर्कटपाता सहयोग गर्नुभएको थियो भने हेर्ने युवा चौदण्डीगढीले मिटर बक्स उपलब्ध गराएको थियो । त्यसैगरी सप्तकोसी नगरपालिका वडा नं-२ का वडा अध्यक्ष जाहिर हुसेनले खानेपानीको लागि कल जडान गरिदिनुभएको थियो ।
समाजसेवी अग्रवालले गंगामायाकाे साथै अपाङ्गताको रुपमा रहनुभएको ज्ञानबहादुर विष्टका परिवारलाई खाद्यान्न सहयोग गर्नुका साथै दुवै परिवारका लागि स्वास्थ्य विमा समेत गरिदिने वचन दिनुभएको छ । त्यस्तै उहाँले गंगामायाकाे घरमा पर्खाल निर्माणका लागि १५ बोरा सिमेन्ट उपलब्ध गराउने र सहयोगी युवा हातहरूको प्रत्येक कार्यक्रममा ५ हजार १ सयका दरले सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको पनि बुझिएको छ । गंगामाया परियारको घर निर्माणमा सहयोग गर्ने संघ संस्था तथा व्यक्तिहरूलाई सहयोगी युवा हातहरूले धन्यवाद दिएका छन् ।