पाल्हीनन्दन गाउँपालिका अध्यक्ष लागूऔषध कारोबारमा दोषी ठहर

२१ फागुन, बुटवल । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लागूऔषध कारोबारमा दोषी ठहर भएका छन् ।

जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले अध्यक्ष गुप्ता र गाउँपालिकाका नगर प्रहरी रघुनाथप्रसाद धोबीलाई कसुरदार ठहर गरेको हो ।कसैबाट लागुऔषध बरामद नभए पनि अध्यक्ष गुप्ता अप्रत्यक्ष संलग्न रहेको भन्दै दोषी ठहर गरिएको हो ।धोबी २०७९ असोज २६ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् । अदालतले अन्य दुई अभियुक्त रामा गुप्ता (रामा साह) र जितेन्द्र पासवानलाई भने सफाइ दिइएको छ ।जितेन्द्र र रामा भारत बिहारका बासिन्दा हुन् ।अध्यक्ष गुप्तासहित धोबीलाई सजाय निर्धारणको लागि फागुन २९ गते पेसी तोकिएको छ । लागूऔषध अभियोगमा २ देखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाख रूपैयाँसम्म जरिबानाको व्यवस्था रहेको छ ।तर, अध्यक्ष गुप्ताले लागुऔषध मुद्दाको कसुरबापत आधा सजाय पाउने भएका छन् । पाल्हीनन्दन गाउँपालिका–३ का मन्टु भनिने विवेकप्रसाद पाण्डे अझै फरार छन् ।

२०७९ असार २२ गते रामग्राम नगरपालिका–१७ पिपरिहयामा अध्यक्ष गुप्ताको निर्देशनमा आफैसँग कबाड सामानको कारोबार गर्ने रामा र जीतेन्द्रलाई फसाउन खोजिएको आरोप लागेको थियो ।

गुप्ताको निर्देशनमा नगर प्रहरी रघुनाथप्रसाद धोबी र विवेकप्रसाद पाण्डेले रामा र जीतेन्द्र चढेको मोटरसाइकल नजिक लागुऔषध राखेर फसाउन खोजेको रामा र जितेन्द्रको परिवारले भन्दै आएका थिए ।

कवाडको कारोबारमा तिर्नुपर्ने करिब एक करोड ३५ लाख रूपैयाँ बराबरको लेनदेन विवादकै कारण गुप्ताले उनीहरूलाई फसाउन खोजेको रामा र जितेन्द्रको दाबी छ ।

उक्त घटनामा तत्कालीन एसपी ऋषिराम कँडेलले राजनीतिक प्रभावमा गुप्तालाई संरक्षण गरेको आशंकामा उनको सरुवा भएको थियो ।

गाउँपालिका अध्यक्ष गुप्ताले आर्थिक चलखेल र राजनतिक शक्तिको आडमा रामा र जीतेन्द्रलाई तिर्नुपर्ने ठूलो रकम तिर्नबाट उम्किन लागूऔषध मुद्दामा फसाउन खोजेको भन्दै पश्चिम नवलपरासीका नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दलहरुले आन्दोलन नै गरेका थिए ।

अध्यक्ष गुप्ता माओवादी केन्द्रबाट दोस्रोपटक गाउंपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *