किन १७ वर्षदेखि विज्ञान-शिक्षक विहिन छ सप्तकौशिका मावि भागलपुर ?

किन १७ वर्षदेखि विज्ञान-शिक्षक विहिन छ सप्तकौशिका मावि भागलपुर ?

 

उदयपुर बेलका नगरपालिका वडा नं २ स्थित मावि तहको एकमात्र विद्यालय – सप्तकौशिका माध्यमिक विद्यालय भागलपुरमा मावि भएको १७ वर्षसम्म पनि विद्यालय विज्ञान शिक्षक विहिन भईरहेको छ। विद्यालयका प्रधानाध्यापक दिलीप चौधरीका अनुसार वि.स. २०६४ सालमा विद्यालय मावि भएको थियो, त्यस सालदेखि नै यस विद्यालयमा विज्ञान विषय पढाउन बि. एस्सी शिक्षक आपूर्ति भएको छैन।

 

शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम १ को उपनियम १ (ग) अनुसार मावि तह पढाउने शिक्षकको योग्यताका लागि सम्बन्धित विषयमा स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महीना तालिम लिएको हुनुपर्ने प्रावधान रहेको छ। तर यस विद्यालयमा राहतका अन्य विषयका काम चलाउ शिक्षकले नै विज्ञान जस्तो संवेदनशिल विषय पढाउँदै आईरहेका छन्।

 

विद्यालयका लागि किन महत्वपूर्ण हुन्छन् विज्ञान शिक्षक?

विज्ञान विषयको शिक्षकको योग्यता विज्ञान विषयमा स्नातक अर्थात बी.एस्सी गरेको हुनुपर्ने हुन्छ। बि.एस्सी तहको कोर्समा गणित र विज्ञान दुवै विषय सम्मिलित भएको हुनाले वि. एस्सी अध्ययन गरेको एकै शिक्षकले गणित र विज्ञान दुवै विषय पढाउने योग्यता रहेको हुन्छ। त्यसैले विज्ञान शिक्षकको आपूर्ति हुँदा स्वतः गणित शिक्षकको पनि आपूर्ति पूर्ण हुने हुन्छ। त्यसैले विद्यालयलाई पर्ने आर्थिक भारको हिसाबले समेत विज्ञान शिक्षक विद्यालयको लागि अति महत्वपूर्ण हुनेहुन्छ।

 

किन विज्ञान शिक्षक छैन? 

थाई रुपमा सरकारबाट स्वीकृत दरबन्दी प्रक्रियाबाट वि.एस्सी गरेको शिक्षक या त अस्थाई रुपमा राहत प्रक्रियाबाट वि. एस्सी गरेको शिक्षक आपूर्तिका लागि पद रिक्त भएको विज्ञापन नखुलाईनु नै विद्यालय विज्ञान शिक्षकविहिन हुनुको मुख्य कारण हो। प्रधानाध्यापक चौधरीका अनुसार यस विद्यालय मावि भएदेखि अहिलेसम्म विज्ञान शिक्षकको पद पूर्तिका लागि विज्ञापन नै खुलाईएको छैन।

 

विज्ञान शिक्षकको लागि किन विज्ञापन खुलाइएन?

विज्ञान शिक्षक आपूर्तिका लागि विज्ञापन नखुलाईनुमा प्रमुख कारण नातावाद तथा कृपावाद नै हावी भएको देखिन्छ। यही वादको पहुँच मार्फत पहुँचमा भएका अन्य विषयका शिक्षकहरुका लागि रिक्त पद  आपूर्तिका लागि विज्ञापन जारी गरी विज्ञान बाहेक अन्य विषयका शिक्षकहरू विद्यालयमा भित्र्याइयो। यस प्रकार विज्ञान विषय शिक्षकका लागि कहिल्यै  विज्ञापन नै नखुलेको देखिन्छ। अहिले यस विद्यालयमा मावि तहको लागि गणित र अङ्ग्रेजी विषयको शिक्षक गरी दुई जना राहत कोटाका शिक्षक रहेका छन्। बेलका नगरपालिका शिक्षा शाखा प्रमुख सुनिल निरौलाका अनुसार मावि तहमा ५ जना राहत शिक्षक कोटा हुन सक्छ तर यस विद्यालयमा दुई वटा कोटा मात्र परेको छ। उहाँ बताउनुहुन्छ – “हाल विज्ञान विषय पढाईरहनु भएका गणित कोटाका शिक्षकको पनि शिक्षक सेवा आयोगमा नाम निस्किसकेको हुँदा अब आउँदो आर्थिक वर्षमा चै गणितको कोटालाई परिवर्तन विज्ञान बनाई एउटै शिक्षकले गणित र विज्ञान हेर्ने शिक्षक ल्याउने योजना छ।”

विद्यार्थीहरूका लागि तुलनात्मक रुपमा विज्ञान विषय अप्ठ्यारो लाग्ने विषयहरू मध्येकै एक हो। आधारभूत योग्यता समेत नपुगेको शिक्षक नहुँदा १७ वर्ष अगाडिदेखिका पुस्ताहरु योग्य विज्ञान शिक्षाको पहुँचबाट वञ्चित हुँदै आईरहेका छन्। विज्ञान र प्रविधिलाई नै आधार बनाएर आजको विश्वले कृतिम बुद्धिमताको युगतिर फड्को मारिसकेको छ। आजका हाम्रा विद्यार्थीहरुमा विज्ञान तथा प्रविधि विषयको जग कमजोर भईरहेमा भोलिको भविष्य समेत स्वतः कमजोर रहने देखिन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *