त्रिविमा विद्यार्थी नेताको दादागिरी : रेक्टर र डीन कार्यालयको कुर्सी भाँचियो, फाइल फालियो

२३ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रेक्टर कार्यालयमा शुक्रबार बिहान साढे १० बजे ६ जना विद्यार्थीको समूह प्रवेश गर्‍यो । ‘रेक्टर सर खोई ?’ भन्दै भित्र पसेको उक्त समूह एकाएक तोडफोडमा उत्रियो । रेक्टरको कुर्सी भाँच्यो अनि फाइलहरू यत्रतत्र फालेर बाहिरियो ।

घटना हुँदा रेक्टर प्राडा खड्ग केसी कार्यालय आइपुगेका थिएनन् । कर्मचारीहरूले विद्यार्थीलाई तोडफोड नगर्न र बसेर छलफल गर्न आग्रह गरे । तर उनीहरूले टेरेनन् ।

‘किन आवेशमा आएको ? रेक्टर सर आउँदैहुनुहुन्छ, बसेर सल्लाह गरौं भनेको हो, मानेनन्,’ एक कर्मचारीले भने, ‘कार्यकक्षमा रहेका टेबुलहरू तोडफोड गरेर हामीलाई थर्काउँदै विद्यार्थी हिँडे ।’

शिक्षाध्यक्ष केसीलाई रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले घटनाबारे फोनबाट जानकारी गराए । केसी थेरापीमा भएका कारण कार्यालय आइपुगेका थिएनन् । ‘रजिस्ट्रार सरको फोन आएको रहेछ । म थेरापीमा थिएँ । विश्वविद्यालयको बैंक नजिक आएपछि फेरि फोन आयो । उहाँले भनेपछि थाहा पाएको हुँ । त्यसपछि म सिधैं रजिस्ट्रार अफिसमा गएँ । कसले गरेको हो, त्यो थाहा छैन,’ केसीले भने ।तोडफोड गर्ने समूहको मागबारे पनि आफूलाई थाहा नभएको उनले बताए । ‘के माग हो, त्यो पनि थाहा छैन । एकाएक आएर तोडफोड भएको छ,’ उनले भने, ‘पछि रजिस्ट्रार सर म गएर हेर्‍यौं । प्रहरीको टोली पनि आएर अनुसन्धान गरेको छ ।’

शिक्षाध्यक्ष केसीको कार्यकक्षमा तोडफोड हुनुअघि विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीन कार्यालयमा पनि तोडफोड भएको थियो । १० बजेतिर नै डीन कार्यालय तोडफोड भएको थियो ।  ‘कार्यकक्षमा तोडफोड भएको छ । कुर्सी उल्टोपाल्टो भएको छ । कागजात छरपस्ट पारिएको छ । सिसा फुटाइएको छ,’ डीन प्राडा शंकर खनालले भने ।

डीन खनाल पनि कार्यालय पुगेका थिएनन् । उनी पुग्नुअघि नै तोडफोड भएको हो । ‘म कार्यालय जाँदै थिए । बाटोमा हुँदा कर्मचारीले फोन गरेर तोडफोड भएको जानकारी गराउनुभयो । पुग्दा तोडफोड भइसकेको थियो । कसले तोडफोड गरेको हो थाहा छैन,’ उनले भने ।

डीन खनाललाई हिजो फिजिक्सका विद्यार्थी आएर परीक्षा सार्न भनेका थिए । ‘उनीहरूले गरेको हो होइन, त्यो थाहा छैन । तर हिजो विद्यार्थी आउनुभएको थियो । परीक्षा सर्नुपर्‍यो भन्नुभएको हो । क्यालेन्डर बिग्रन्छ  । स्ववियु चुनावको दिन परीक्षा छैन भनेपछि सहमत भएर जानुभएको हो,’ खनालले भने ।

तोडफोड गर्ने विद्यार्थी नेता

प्रहरीले प्राप्त गरेको सीसीटीभी फुटेज र कर्मचारीका अनुसार विद्यार्थी नेता नरेन्द्र साउद र सिकेन्द्र रोकायाको समूहले तोडफोड गरेको हो । ‘६ जनाको समूह सीसीटीभी फुटेजमा देखिन्छ । फुटेज हेर्दा एकाएक तोडफोड गरेको देखियो । कसैसँग कुरा पनि गरेको छैन । टेबुल तोडफोड गरेर बाहिरिएको सीसीटीभी फुटेज छ,’ प्रहरी स्रोतले भन्यो ।

प्रहरीका अनुसार चैत ३, ७ र ११ गतेका एमएस्सी दोस्रो सेमेस्टरको परीक्षा सार्न विद्यार्थीहरूले दबाब दिएका थिए । क्यालेन्डर प्रभावित हुनेगरी परीक्षा सार्न डीन कार्यालयले मानेको थिएन । यही निहुँमा तोडफोड भएको आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान प्रहरीले गरिरहेको छ ।

तोडफोडबाट शिक्षाध्यक्ष कार्यकक्षको १ थान घुम्ने कुर्सीको खुट्टा भाँचिएको, ४ थान टेबुल पल्टाएको, १ थान गमला एवं १ थान डस्टबिन फुटेको छ । विज्ञान संकाय डीनको कार्यकक्षमा १ थान टेबल पल्टाएको र उक्त टेबलमाथि रहेको सिसा फुटेको र १ थान कुर्सी पल्टाएको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार तोडफोड गर्ने साउद त्रिविका स्ववियु सदस्य समेत हुन् । उनी नेविसंघबाट त्रिविको स्ववियु सदस्य चयन भएका थिए । साउद ने तोडफोडमा आफू सहभागी नरहेको दाबी गर्छन् । ‘संघर्ष समितिका भाइहरूले गरेको हो । शुल्क घटाउनु पर्‍यो भनेर हो । यो विषयमा रेक्टर कार्यालयमा ताला पनि लगाइएको थियो । ताला पनि समन्वय नगरी काटिएको रहेछ । त्यही भएर संघर्ष समितिले तोडफोड गरेको हो । म चाहिँ इक्युभ्यालेन्टको कामले गएको हुँ,’ उनले आफ्नो बचाउ गरे ।

आफू स्ववियु सदस्य र आगामी स्ववियु चुनावको उम्मेदवारसमेत रहेकाले तोडफोड गर्न नमिल्ने साउद बताउँछन् । ‘स्ववियु चुनावको तयारीमा छ । यसअघि नेविसंघबाट सदस्यमा जितेका हुँ । अहिले सभापतिको उम्मेदवार हुँ,’ उनले भने ।

तोडफोड गर्ने अर्का व्यक्ति रोकाया भने केही समयअघिसम्म अखिलमा आवद्ध थिए । ‘रोकाया भाइ पहिले अखिलको हो । अहिले हुनुहुन्न,’ त्रिविका एक अखिल नेताले भने । रोकाया पनि आफू अहिले कुनै संगठनमा नरहेको बताउँछन् । ‘जसले विद्यार्थीको हकहितमा कुरा गर्छ, उसैलाई सहयोग गर्ने गरेको छु । कुनै संगठनमा आवद्ध छैन,’ उनले भने ।

 

त्रिवि संघर्ष समितिको नाममा केन्द्रीय विभागको शुल्क घटाउन माग गर्दै आएका विद्यार्थीहरूले तोडफोड गरेको दाबी गर्छन् तोडफोडमा संलग्न भनिएका साउद । ‘त्रिविले अन्तर्राष्ट्रिय सम्बन्ध, शान्ति र विकास, लैङ्गिक अध्ययन र सामाजिक कार्य विभागलाई केन्द्रीय विभाग बनायो । आत्मनिर्भर कार्यक्रमहरूलाई केन्द्रीय विभागका रुपमा सञ्चालन गरिएपछि शुल्क घटाउनुपर्ने, स्ववियु मतदानको अधिकार प्रदान गर्नुपर्ने लगायतका माग राखेर त्रिवि सङ्घर्ष समितिको नामबाट तालाबन्दी गरिएको हो । तर कुनै छलफल तथा वार्ता नै नगरी रेक्टरले ताला तोडेको भन्दै उनीहरू रेक्टर कार्यालयमा तोडफोड गरेका हुन,’ साउदले भने ।

तोडफोडमा हाम्रो संलग्नता छैन : नेविसंघ

नेविसंघबाट स्ववियु सदस्य बनेका साउद घटनामा मुछिएपछि नेविसंघले भने आफ्नो संगठनको संलग्नता नरहेको बताएको छ । ‘नेविसंघका नेता/कार्यकर्ता गएर तोडफोड गरेका छैनन् । संगठनको नाम मुछिएकोमा हाम्रो गम्भीर ध्यानकर्षण भएको छ,’ त्रिवि नेविसंघ सभापति विष्णु बडैलाले भने ।

घटनाको प्रकृति हेर्दा तोडफोड गर्नेलाई विद्यार्थी पनि भन्न नसकिने छ । ‘यस्तो खालको तोडफोड विद्यार्थीले गरे जस्तो लाग्दैन । विश्वविद्यालयमा यस्तो घटना हुनु दुःखद हो,’ डीन खनालले भने । विश्वविद्यालयमा हुने तोडफोड, बन्द जस्ता गतिविधिलाई राजनीतिक दल, विद्यार्थी, कर्मचारी, प्राध्यापक, नागरिक समाजले निरुत्साहित गर्नुपर्ने बताउँछन् शिक्षाध्यक्ष केसी ।

‘विश्वविद्यालयमा जहिले पनि तर्साएर यसो गर्दा हुन्छ भन्ने मान्यता राख्नु हुँदैन । सबैले यस्ता गतिविधिलाई निरुत्साहित गर्नुपर्छ,’ उनले भने । आगामी ५ चैतमा त्रिविमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव हुँदैछ । चुनाव नजिकिएसँगै विद्यार्थीहरू तोडफोडमा उत्रिएका छन् ।

Source: onlinekhabar

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *