५ चैत काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियुमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् ।उनी १ हजार १०२ मत सहित विजयी भएका हुन्।
उनका अनुसार प्रतिद्वन्द्वी माओवादी निकट विद्यार्थी संगठनका उम्मेदवार रसिक लम्सालले ७१० मत ल्याएका छन् । स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत श्रेष्ठ निर्वाचित भएका हुन् ।विद्यार्थीको प्रतिनिधि विद्यार्थी हुनुपर्ने दलबाट हुन नहुने भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । विद्यार्थीको प्रतिनिधि दलको हुनुपर्छ भन्ने भाष्य तोड्नुपर्ने उनको भनाइ थियो ।श्रेष्ठ १६ बुँदे योजना बनाएर चुनावी मैदानमा उत्रिएका थिए ।सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटाले १०६४ मत ल्याएर निर्वाचित भएका छन् । कोषाध्यक्षमा अनेरास्वियुका अल्बर्ट ढकालले १०४२ मत ल्याएर निर्वाचित भएका छन् । पुल्चोकमा ३ हजार ८०७ जना मतदाता थिए ।यसअघि २०७९ मा भएको चुनावमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका विराज अर्यालले चुनाव जितेका थिए ।