२५ चैत, उदयपुर । सुनसरीको धरानको जंगल क्षेत्रमा महिलाको शव फेला परेको छ । सोमबार दिउँसो धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा महिलाको शव फेला परेको हो ।
गोठालो गएकाहरूले जंगलभित्रको लसुनेको रुख मुनी अडेसा लागेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा महिलाको हत्या गरी शव जंगलमा छाडेको जस्तो देखिएको प्रहरीले बताएको छ । ३०– ३५ वर्षको जस्तो देखिने महिलाको घाँटीमा चोट छ ।सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले शव भेटिएपछि अनुसन्धान सुरु गरेको बताए । शवको पहिचानको प्रयास भइरहेको बताउँदै उनले घटनास्थलबाट शवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको बताए ।शव भेटिएपछि घटनास्थलमा प्रहरीको फरेन्सिक विज्ञसहितको प्राविधिक टोलीले कुकुर पनि प्रयोग गरेको थियो ।घटना शंकास्पद भएकाले सुक्ष्म रुपमा अनुसन्धान भइरहेको तिम्सिनाले बताए ।