पाथिभरा मन्दिर तर्फ यात्रु बोकेर जादै गरेको जिपमा लाइनको तारले छुदा ४ जनाको मृत्यू

बिहान देख्यो

 

ताप्लेजुङ -पाथीभरा मन्दिरतर्फ यात्रु बोकेको एउटा जिप सोमबार बिहान पाँच बजेतिर सदरमुकाम फुङलिङबाट चुपचाप यात्रा सुरू गरेको थियो।बिहानको चिसोमा लपक्क परेको कुहिरो छिचोल्दै यात्रुले आ-आफ्ना आस्थाका थुप्रा बोकेका थिए। कसैको मनमा आफ्नो मुराद पूरा गर्ने आशा थियो, कसैले घर फर्केपछि ल्याउने ‘प्रसाद’ को कल्पना गर्दै थिएका थिए। तर त्यो यात्रा, बीचमै रोकियो – आगोको गोलामा परिणत हुँदै। पाथीभरा क्षेत्रको सेवारो चोक पुग्नै लाग्दा, अचानक जिपले सडकमा लत्रिएको बिजुलीको तार छोयो। एक झ्याप्प आवाज, अनि आगोको ठूलो मुस्लो। सेवारो चोकले यति दर्दनाक दृश्य सम्भवतः कहिल्यै देखेको थिएन।

 

मे १ ज ३०११ नम्बरको जिप पाथीभरातर्फ यात्रु बोकेको थियो। तर, लत्रिएको विद्युतको तारले टच गर्दा सवारीमा आगलागी भयो। जिपभित्रका यात्रुहरूलाई न त भाग्ने मौका मिल्यो, न त कुनै सहायता पुग्यो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) रवि रावल भन्छन्, ‘दुर्घटनामा दुई पुरुष र दुई महिला गरी चार जनाको घटनास्थलमै मृत्यु भएको छ।’ च्यापिएको जिपबाट सकससाथ निकालिएका दुई जना यात्रु घाइते छन्। उनीहरू आमा र छोरा हुन्। आमाको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि हेलिकोप्टरबाट लैजाने प्रयास भइरहेको प्रहरीले जनाएको छ। उनका १० वर्षीय छोराको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

 

मृत्यु हुनेमा ललितपुर महानगरपालिका-१० का १६ वर्षीया आध्या आचार्य, भद्रपुर नगरपालिका-१५ का ७० वर्षीय विनोद पौडेल, पौडेलकै श्रीमती ६९ वर्षीय सरिता पौडेल र सवारी चालक ताप्लेजुङ फुङलिङ नगरपालिका-१० का ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन्। त्यस्तै, घाइते हुनेमा ललितपुर-१० का ४५ वर्षीया सविना आचार्य र उनका १० वर्षीय छोरा भविमय आचार्य छन्। स्थानीयहरू भन्छन् – आगलागीपछि केही यात्रुहरू बच्न खोजे, तर जिपमा लागेको आगो यति भीषण थियो कि चार जनाको शव नचिनिने अवस्थामा जलेर नष्ट भएको छ।

स्रोत: पुर्वेली न्युज