बेलका, असार १३, बेलका नगरपालिकाले शुक्रवार प्रथम पटक बेलका नगरपालिका स्तरीय विज्ञान प्रदर्शनी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। जनता नमुना मावि गुरुङ्गचौरीको प्रांगणमा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाद्वारा सञ्चालन भएको यस कार्यक्रममा नेपाल एष्ट्रोनोमिकल सोसाईटी र जनता नमुना मावि गुरुङ्गचौरीले प्राविधिक सहयोग गरेको थियो। कार्यक्रमका प्रमुख अतिथिका रुपमा बोल्दै नगर उपप्रमुख जिरा राईले विद्यार्थीहरूका स्तर तथा विद्यालयको समग्र विज्ञान शिक्षाको स्तरसमेत झल्किने तथा विज्ञानको क्षेत्रमा लाग्न रुचि हुने विद्यार्थीहरुलाई हौसला प्रदान गर्ने जनाउनु भयो।
कार्यक्रममा सभाध्यक्षको रुपमा जनता नमुना मावि गुरुङ्गचौरीको विव्यस अध्यक्ष मनोज तामाङले आफ्नो मन्तव्य राख्दै विकासका निमित्त विज्ञानको महत्वलाई आत्मसात गरी जनता नमुना माविलाई नेपालमै पहिलो पटक ११/१२ निःशुल्क विज्ञान विषय पढाइने विद्यालयको रुपमा विकास गरेको कुरा उल्लेख गर्नुभएको थियो।
कार्यक्रममा नगरपालिका भरिका २० वटा माध्यमिक तहका विद्यालयहरूमध्ये १७ वटा विद्यालयहरुका विद्यार्थीहरुलाई प्रदर्शनीमा भाग लिएका थिए। प्रदर्शनीमा सबैभन्दा उत्कृष्ट हुँदै प्रथम स्थान हासिल गर्न जनता नमुना मावि गुरुङ्गचौरी, दोस्रो स्थानमा बेलका जनता मावि पुरन्दह र तेस्रो स्थानमा वर पिपल मावि कमालावारी रहेका छन्।
शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हरी कट्टेलको संयोजकत्वमा भएको यस कार्यक्रममा बेलका नगरका प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य, वडा ९ का वडा अध्यक्ष भरत घिमिरे तथा विभिन्न निजी तथा सामुदायिक विद्यालयहरुका शिक्षक वर्ग तथा प्रधानाध्यापकहरु उपस्थित रहेको थियो।